बिबिशालाई पर्वत स्टारको उपाधि

काठमाडौं । पर्वत विहादी गाउँपालिका वाहाकीकी बिबिशा पाण्डेले ‘पर्वत स्टार २०७५’ को उपाधि चुमेकी छन् । राजधानीको राष्ट्रिय नाचघर जमलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले उपाधिसँगै एक लाखसहित विभिन्न उपहार हात पारिन् ।

सोनी फिल्मस प्रालिको आयोजनमा भएको उक्त प्रतिस्पर्धाको खुला नृत्य प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि पर्वत फलेवासकी स्मृति चपागाईले चुुम्न सफल भइन् । त्यस्तै, तेस्रो स्थान विहादी गाउँपालिका रानीपानीकी सृष्टि सुनवार र सान्त्वना पुरस्कार स्याङ्जा गल्याङकी लोचन आलेले प्राप्त गरिन् ।

प्रतिस्पर्धामा टपटेनका अन्य विजेतामा मुनाल परियार, रेजिना थापा, अस्मिता रनपाल, आर्मित्मा सारुमगर, लिजा थापा र सुजिना थापा रहेका थिए ।

प्रतियोगितामा दोस्रो हुनेलाई ५० हजार र तेस्रोलाई २५ हजार नगद विभिन्न गिफ्ट ह्यापर र ट्रफी प्रदान गरिएको थियो । विजेतालाई सोनी फिल्मसबाट निर्माण हुने चलचित्रमा समेत अनुबन्धन गरिएको छ ।

१८ जिल्लाबाट १ सय ५० जनाले सहभागिता जनाएको उक्त प्रतियोगिताको निर्णायकमा राम गौतम, प्रेम शर्मा पौडेल, लवसन गुरुङ र एकेन्द्र सारा शंकर रहेका थिए । मनोरञ्जनात्मक कार्यक्रमसहित समापन भएको उक्त प्रतिस्पर्धामा पर्वतका सभासद् पदम गिरी,

पूर्वसभासद अर्जुन जोशी, कलाकार उत्तम केसी, लय संग्रौला, नेता ऋषिकेश तिवारी, राजेन्द्र तिवारी, सुन्दर भुसाल लगायतले प्रतियोगिताले प्रतिभालाई चिनाउन मद्दत गर्ने बताए । गाउँगाउँमा रहेका प्रतिभालाई मञ्चमार्फत बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता गरिएको कार्यक्रमका संयोजक प्रेम सोनी सुनारले बताए ।

प्रतिक्रिया