गुरुङ सम्मानित

काठमाडौं । वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई नेपाली गीत संगीतका क्षेत्रमा लामो समयदेखि योगदान दिएवापत सम्मान गरिएको छ ।

वर्गीय गायक खेमराज गुरुङको नाममा स्थापना गरिएको ‘खेमराज स्रष्टा सम्मान’ बाट गुरुङलाई ५० हजार नगदसहित सम्मान गरिएको हो । खेमराज गुरुङको दोस्रो वार्षिकीको अवसर पारेर ‘खेमराज गुरुङ ट्रस्ट’ ले राजधानीमा उनका सांगीतिक गुरुसमेत रहेका प्रकाशलाई सम्मान गरेको जनाएको छ ।

ट्रस्टले गत वर्ष उक्त सम्मानबाट वरिष्ठ गीतकार रत्नसम्शेर थापालाई सम्मान गरेको थियो । त्यस्तै, ट्रष्टले प्रदान गर्दै आएको युवा प्रतिभा पुरस्कार ओमप्रकाश राईलाई दिइएको छ ।

एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा साधनारत राईलाई २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । पूर्वमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजितक कार्यक्रममा सिक्किमका संस्कृति एवं पर्यटनमन्त्री गर्जमान गुरुङको समेत उपस्थिति रुहेको थियो ।

खेमराजको निधन भएको प्रथम वार्षिकीको अवसर पारेर ट्रस्टको स्थापना गरिएको थियो । खेमराजकी दिदी चञ्चला गुरुङले आगामी दिनमा ट्रस्टले सांगीतिक क्षेत्रमा विविध कार्यक्रम गर्ने जानकारी दिइन् । उक्त अवसरमा खेमराजका गीतको संग्रह ‘खेमराजका गीतहरू’ समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया