कवितामा सिमानाको आवाज

 

काठमाडौं । कवयत्री गीता पुडासैनीद्वारा लिखित ‘सिमानाको सालिक’ कविता संग्रह सार्वजनिक गरिएको छ ।

उक्त पुस्तकको राजधानीमा शनिबार साहित्यकार तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल, प्रगतिशील लेखक संघका उपाध्यक्ष डा. विन्दु शर्मा र समालोचक महेश पौड्यालले संयुक्त रूपमा विमोचन गरे ।

नुवाकोट साहित्य प्रतिष्ठान र बुक्सेलरले आयोजना गरेको कार्यक्रममा पुडासैनीले कवितामार्फत समाजमा भएका नराम्रा घटना र विद्रोहचेतलाई उजगार गरेको श्यामलले बताए । उनले भने, ‘आजकल कवि बन्ने रहरमा धेरैले शब्दको मर्म नबुझी कविता लेख्ने गरिएको छ । पाठकलाई प्रभाव पार्ने किसिमले मौलिक कविता लेख्नुपर्छ ।’

‘चिन्तन, विकास र अनुभवलाई समेटर कविले सामान्य रूपमा कविता लेखेका हुन्छन्’ साहित्यकार श्यामलले भने, ‘भावना र मिहिनेत गरेर आफूलाई हिँडाउन सक्ने र समाजलाई चेतना दिनसक्ने कालको कविता लेख्नमा बढी ध्यान दिनुपर्छ ।’

प्रलेसका उपाध्यक्ष डा. शर्माले कवयत्रीले समाजमा देखिएका उत्पीडित, विभेदलाई कवितामा चित्रण गरेको धारणा राखिन् । उनले भनिन्, ‘पछिल्लो समयमा समानान्तर रूपमा पुरुष लेखकसँगै गुणात्मक तरिकाले महिला लेखकले साहित्य सिर्जना गर्दै अगाडि बढिरहेका छन् ।’ महिला स्रष्टाले साहित्यका क्षेत्रमा बढाएको ओजपूर्ण रचनाले नेपाली साहित्य समृद्ध बन्दै गएको उनले बताइन् ।

कार्यक्रममा समालोचक पौड्यालले लेखकले कवितामा नयाँ कुरा र बिम्बको प्रयोग गरेर कविता लेखेको भनाइ राखे । उनले भने, ‘नेपाली समाजका विविध पक्ष र घटनालाई कवितामा कलात्मक रूपमा पुडासैनीले चित्रण गरेको देखिन्छ ।’

कवि पुडासैनीले ०७० सालपछि आफूले समाजमा देखेभोगेका विषयलाई आधार बनाएर कविता लेखेको बताइन् । उनले भनिन्, ‘कवितामार्फत मैले समाजको यथार्थ चित्रणलाई पस्कने कोसिस गरेकी छु ।’

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कविता संग्रहमा ‘आइमाई, ‘सगरमाथाको सम्बोधन’, ‘सिमानाको सालिक’ ‘प्रयोगशालाबाट फर्कंदा’, आमा र पत्नी’, ‘बधशाला, फूलहरुको मृत्यु’ ‘विस्थापित र जिन्दगीलगायत ३० वटा कविता संग्रहित छन् ।

प्रतिक्रिया