सार्कको औचित्य सकिएको छैन

दक्षिण एसियाबाट भोक, रोग, गरिबी र आतंकवादविरूद्ध लड्ने साझा प्रतिवद्धता व्यक्त गर्दै यो क्षेत्रमा समृद्धि ल्याउन दुई दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) अहिले मृत्यु शैयामा छ । अहिले यसले नराम्रोसँग विश्वासको संकटको सामना गर्नुपरेको छ । खासगरी, भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण आगामी नोभेम्बर ९ र १० मा हुने भनिएको १९औँ सार्क शिखर सम्मेलन आयोजक राष्ट्र पाकिस्तानले स्थगित भएको घोषणा गर्न बाध्य हुनुपरेको छ । सार्कको वर्तमान अध्यक्ष नेपालले उत्पन्न तनाव अन्त्य गर्दै सहज वातावरण बनाएर सम्मेलन आयोजना गर्न प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै कूटनीतिक क्षेत्रबाट आलोचना भइरहेको छ । यसरी समृद्ध सार्कको परिकल्पना अब बिस्तारै सपनामा परिणत हुने सम्भावना बढेर गएको छ ।

दक्षिण एसियामा प्राकृतिक स्रोत र साधनहरू पर्याप्त मात्रामा छन् । तर, तिनको सदुपयोग भने अझै पनि ठोस मात्रामा हुन सकेको छैन । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने हाम्रा अपार जलसम्पदाहरूले गरिबी निवारणमा ठोस योगदान पु¥याउन सक्छन् । तर, प्रविधि र लगानी गर्ने पुँजीको अभावमा हामीले लिनुपर्ने जति फाइदा लिनुपर्ने हो, त्यो लिन नसकेको तीतो यथार्थ हामी सबैका सामु छर्लंगै छ । यस्तै, अन्य सदस्य राष्ट्रहरूमा पनि भिन्न प्रकृतिका प्राकृतिक स्रोत तथा सम्पदाहरू छन् । तर, पुँजी र प्रविधिको उचित प्रयोग गर्न नसकेर ती राष्ट्रहरूले पनि फाइदा लिन सकेका छैनन् । परिस्थिति यस्तो भए पनि भारत र पाकिस्तानबीच गम्भीर रूपमा उत्पन्न विवाद र द्वन्द्वपूर्ण वातावरणलाई सरलीकरण गर्नु नै आज सार्कका लागि प्रमुख चुनौतीको विषय बन्न पुगेको छ । समृद्धि र आतंकवाद सँगसँगै अघि बढ्न नसक्ने भएकाले आतंकवादको उन्मूलन आजको प्रमुख खाँचो हो ।

यसरी अफगानिस्तानसहित आठ राष्ट्र सदस्य रहेको सार्कले आफ्नो स्थापनाको दुई दशक हुँदा पनि अशातीत परिणाम प्राप्त गर्न नसक्नु सबैको साझा कमजोरी मान्नुपर्छ । पूर्वाधार निर्माण र पुँजी निर्माण गर्न नसकेका कारण सार्क औपचारिकताअनुसार यदि काम हुन सकेको भए आज सार्क यसरी मृत्युशैयामा पुग्नुपर्ने थिएन । गरिवीविरूद्धको युद्ध आफैँमा सहज हुँदैन । यसका लागि समयअनुसारको उपयुक्त प्रविधि प्रमुख आवश्यकता मानिन्छ । विज्ञान र प्रविधिको उपयोगविना सार्कले मूर्तरूप लिन सक्ने थिएन । तर, दुर्भाग्य नै मान्नुपर्ने हुन्छ कि यी आठ सदस्य राष्ट्रहरूमा भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको असमझदारी र अविश्वास अहिले आएर चरमचुलीमा पुगेको छ । कतै युद्ध त हुने होइन ? भन्ने आशंकासमेत गर्न थालिएको छ । यी दुई राष्ट्रबीच शीतयुद्धकालीन सोभियत युनियन र अमेरिकाजस्तो दूरी बढेको छ । यी दुई राष्ट्रबीच विद्यमान असमझदारी र द्वन्द्वपूर्ण स्थिति तत्काल अन्त्य गर्न सार्कका सदस्य मुलुकले भूमिका हेल्नुपर्दछ । नत्र यी दुई मुलुकको आफसी असमझदारीको कोपभाजनमा परेर सार्कको पनि अस्थितित्व समाप्त हुनेछ । आफ्ना सदस्य मुलुकबीच देखिएको असमझदारीलाई हल गर्न सक्यो भने सार्कको औचित्य झनै पुष्टि हुनेछ । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले त्यो भूमिका निर्वाह गर्न सक्यो भने, सधैँ आलोच्य भइरहने नेपालको कूटनीति पनि एउटा उचाइ हासिकल गर्न सक्नेछ ।

प्रतिक्रिया