रहेनन् फत्तेमान

Fatteman-Rajbhandariकाठमाडौं, २६ भदौ ।
… रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो…
… मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ….
यी गीत नसुन्ने र नगुनगुनाउने नेपाली सायदै होलान् । तर, यस्ता दर्जनौँ कालजयी गीत नेपाली संगीतलाई दिएका ७७ वर्षीय गायक तथा संगीतकार फत्तेमान राजभण्डारी अब हामीसामु रहेनन् । लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित उनको सोमबार राति १२ बजेर १५ मिनेट जाँदा ओम अस्पतालमा निधन भएको हो । उनको मंगलबार बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । अन्तिम श्रद्धाञ्जली दिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीका साथै संगीत क्षेत्रका अधिकांश व्यक्ति आर्यघाट पुगेका थिए । सर्वसाधारणको पनि ठूलो घुइँचो थियो ।
१९९३ साल मंसिर १३ गते काठमाडौंको पशुपति देवपत्तननजिकै जन्मिएका फत्तेमानले करिब ४ सयभन्दा बढी गीतमा आºनो स्वर दिएका छन् । उनले दर्जनौँ गीतमा संगीत भर्नुका साथै यत्तिकै संख्यामा गीत पनि रचना गरेका छन् । आधुनिक सुगम संगीतमा मात्र उनले स्वर दिएका छैनन्, भजनमा समेत उनको स्वर सुनिन्छ ।
२५ वर्षको उमेरमा पहिलोपटक रेडियो नेपालबाट भजन गाएर गायन क्षेत्रमा प्रवेश गरेका फत्तेमानले त्यसउप्रान्त एकपछि अर्काे गर्दै दर्जनौँ कालजयी गीत नेपाली सुगम संगीतलाई दिएका छन् । नेपाली गायन तथा संगीत क्षेत्रमा अतुलनीय योगदान दिएका वरिष्ठ गायक राजभण्डारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सम्मान गरिएको थियो । बंगलादेशबाट समेत उनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
०२५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम भएका स्व. फत्तेमानले ०५२ मा छिन्नलता पुरस्कार र ०५५ सालमा गोरखा दक्षिण बाहु पुरस्कार प्राप्त गर्नुका साथै अन्य सयौँ सम्मान प्राप्त गरेका छन् ।
दशकौँअघि रेकर्डिङ गरिएका उनका गीत आज पनि उत्तिकै कर्णप्रिय र लोकप्रिय छन् । ‘यस्तो पनि हुँदो रहेछ, बनै खायो डढेलोले, सान्नानीको गालैमा कालो कोठी’ लगायत दर्जनौँ कालजयी गीत दिएका छन् उनले । उनले राष्ट्रिय गीतमा समेत आºनो जादुमय स्वर दिएका छन् । उनको ‘रातो र चन्द्र सूर्य जंगी निशान  हाम्रो’ गीत अत्यन्तै चर्चित छ ।
नेपाली आधुनिक सुगम संगीतको पहिलो पुस्ताका गायकका रूपमा चिनिन्छन्, फत्तेमान । साढे पाँच दशक नेपाली संगीतमा बिताएका वरिष्ठ गायक तथा संगीतकार फत्तेमानको उपचारमा सरकारले कन्जुस्याइँ गरेको आफन्त तथा कलाकारले आरोप लगाएका छन् । उपचार खर्चका लागि सरकारसँग लिखित निवेदनसहित आग्रह गरे पनि कुनै चासो नदेखाएको परिवारको गुनासो छ । संस्कृतिमन्त्री रामकुमार श्रेष्ठले तिजको दिन मात्र फत्तेमान बिरामी भएको थाहा पाएको दाबी गरे । मन्त्री श्रेष्ठले भने, ‘परिवारले उपचार खर्चका लागि सहयोग माग गरेको थाहा थियो तर त्यसका लागि अस्पतालको सर्टिफिकेट चाहिन्छ ।’
स्व.फत्तेमानको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पशुपति पुगेका मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँग कलाकारले कोष स्थापना गर्नुपर्ने माग राखेका थिए तर रेग्मीले भने कुनै प्रतिक्रिया दिएनन् ।
गायक फत्तेमानको निधनपछि राष्ट्रिय सम्मान दिन आग्रह गरिएको भए पनि सरकारले आºनो कुरा नसुनेको पारिवारिक स्रोतले बताएको छ ।
वरिष्ठ संगीतकार अम्बर गुरुङले स्व. फत्तेमान नेपाली संगीत क्षेत्रको उज्ज्वल नक्षत्र भएको उल्लेख गर्दै सरकारले राष्ट्रिय सम्मान दिन कन्जुस्याइँ गरे पनि श्रोताको अपार माया सरकारी सम्मानभन्दा धेरै माथि रहेको जिकिर गरे । कलाकारले उनको मृत्युले संगीत क्षेत्रले अभिभावक गुमाएको प्रतिक्रिया दिएका छन् । स्व. फत्तेमानका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया