छोराको लास ल्याउन विद्या कार्कीको हारगुहार

IMG_8771काठमाडौं, २१ जेठ । टिचिङ अस्पतालअगाडिको व्यस्त सडक । जहाँ गाडीहरूको खचाखच चाप छ । अस्पताल रोड, सवारीसाधनका चर्को आवाज निषेधित क्षेत्र भएकाले होला । चर्को आवाज कम भए पनि सवारीसाधनका ओहोर–दोहोरको भिडले सडक क्रस गर्ने यात्रीलाई घन्टाँै कुर्नुपर्ने बाध्यता छ । यात्रुको आवाज मधुर छ । त्यही कोलाहलबीच एक घरबाट महिला रोइरहेको आवाज बाहिरसम्म आइरहेको छ । बेला–बेलामा सम्झाउँदै गरेको पुरुषको आवाज पनि सुनिन्छ । अनुमान लगाउन सकिन्छ पक्कै त्यो घरभित्र ठूलै घटना भएको छ । अर्थात् कसैको मृत्यु भएको छ र कोही उसको सम्झनामा कोलाहल गरिरहेकी छन् । उनको आवाज पच्छ्याउँदै भित्र छिर्दा देखियो, त्यहाँ कुनै शोकको माहोल । जहाँ कलाकार विद्या कार्की चिच्याइ–चिच्याइ रोइरहेकी छन् ।
विद्या रुवाइ रोकिने कुनै छेकछन्द छैन । छेउमै रहेकी विनिता घिमिरेका आँखा पनि आँसुले भरिएका छन् । उनीहरूका अगाडि देख्दा सरकारी  हाकिमजस्तो मानिस घुम्ने मेचमा बसेर रुवाइ शान्त पार्न कोसिस गरिरहेका छन् । विद्याको रुवाइ शान्त पार्न नसकेका पुरुषले छेउमै रहेकी विनिताको हातमा रहेको फाइल माग्छन् । विनिता अगाडि बढ्दै फाइल पुरुषको हातमा के सम्पन आँटेकी थिइन्, कतैबाट आवाज आयो– कट् । रोइरहेकी विद्या चुप लाग्छिन्, विनिताले फाइल फिर्ता लिइन् । पुरुष मेचमा घुम्दै मुस्कुराउन थाले । सबैको अनुहार हाँसोले भरियो ।
प्रसंग हो, चलचित्र राहदानीको । आइतबार महाराजगन्जस्थित टिचिङ अस्पतालअगाडि रहेको टाटा सो रुममा यसको सुटिङ भइरहेको थियो । कलाकार विद्या कार्की, विनिता घिमिरे, उपेन्द्र कार्कीलगायतले चलचित्रको सर्ट दिइरहेका थिए ।
‘गैरकानुनी रूपमा मलेसिया कामका लागि गएका छोराको त्यहीँ मृत्यु भएपछि लास स्वदेश ल्याउन उसकी आमाले वैदेशिक रोजगार प्रवर्धन बोर्डका निर्देशकसँग हारगुहार गर्ने दृश्य हो यो,’ निर्देशक डब्बु क्षत्रीले छायांकन भइरहेको चलचित्रका दृश्यबारे प्रस्ट्याए । मृत्यु हुने पात्र चलचित्रका पाँच नायकमध्ये एक भएको निर्देशक क्षत्रीले खुलाए । चलचित्रमा विदेशमा मृत्यु हुने छोराको आमाकी भूमिकामा विद्या कार्की र प्रवर्धन बोर्डको निर्देशकको भूमिकामा उपेन्द्र कार्की अभिनयमा देखिएका छन् ।
‘श्रीमान्को मृत्युपछि बडो दु:ख गरेर हुर्काएको छोरा घरपरिवारको ऋण तिर्न मलेसिया जान्छ । गैरकानुनी रूपमा विदेश गएकाले उसको लास ल्याउन वैदेशिक रोजगार व्यवसायी संघलगायत संघसंस्था गुहार्ने क्रममा वैदेशिक रोजगार बोर्डका निर्देशकअगाडि आँसु बगाउँदै हारगुहार गर्ने दृश्य छ । यही दृश्यमा अभिनय गरेकी हुँ,’ विद्याले भूमिका सुनाइन्, ‘साँच्चिकैजस्तो लागोस् भनेर सकेसम्म वास्तविक रोएकी छु ।’ चलचित्रमा यस्ता सिन अरू पनि भएको जानकारी गराउँदै कार्कीले भनिन्, ‘जहाँ हारगुहार गरे पनि असफल भएपछि आफैँ आत्महत्या गर्ने सिन पनि छ ।’
त्यस्तै, कलाकार उपेन्द्रले सरकारी निकाय वैदेशिक रोजगार बोर्डका निर्देशकको भूमिकामा अभिनय गरेका छन् । ‘एउटी दु:खमा परेकी आमाले सरकारी उच्च ओहोदामा रहेका हाकिमका अगाडि हारगुहार गर्दा पनि वास्ता नगर्ने हाकिमको भूमिका मैले निर्वाह गरेको छु,’ उपेन्द्रले भने, ‘केही क्षणका लागि भए पनि हाकिम बन्न पाउँदा आफूलाई गौरव महसुस भयो । आफू यस्तो निकायमा भए दु:खमा परेकालाई साथ दिन्थँे । तर, चलचित्रमा आफूले साथ नदिने भूमिका निर्वाह गरेको हँु ।’ यो दृश्य वास्तवमै सम्झँदा कहालीलाग्दो भएको उनले सुनाए ।
अर्की नायिका मोनिका दाहाल पनि चलचित्रका पाँच नायिकामध्येकी एक हुन् । चलचित्रमा कलेज पढ्ने चञ्चले धनी बाबुको आवारा छोरीको  भूमिका आफूले निर्वाह गरेको उनले बताइन् । भनिन्, ‘चलचित्रमा कलेज पढ्ने एक केटा छ । जसलाई म मन पराउँछु ।’ ती केटालाई पाउन आफू जे पनि गर्न तयार रहने जुझारु केटीको चरित्र आफूले निर्वाह गरिरहेको उनले बताइन् ।
वैदेशिक रोगारका सिलसिलामा नेपालीले स्वदेशमा मात्र होइन, विदेशमा पनि के–कस्ता समस्या सामना गर्नुपर्छ भन्ने चलचित्रमार्फत सबैमा सन्देश दिन आफूले चाहेको प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले बताए । भने, ‘लामो समय चलचित्र पत्रकारितामा सक्रिय र यसैसम्बन्धी अध्ययन गरेका डब्बुले निर्देशक गर्ने भएकाले चलचित्र राम्रो बन्ने र लगानी सुरक्षित हुनेमा आफू ढुक्क रहेको ढकालले खुलाए ।
प्राय: नवकलाकारका अभिनयमा बाहुल्य रहेको चलचित्रमा नवीन लम्साल पनि मुख्य भूमिकामा छन् । आफूले धनी घरको हाइफाइ देखाउनुपर्ने केटाको भूमिका निर्वाह गरेको नवीनले सुनाए । उनले भने, ‘मैले केही चलचित्रमा सानोतिनो भूमिकामा अभिनय गरेको छु ।’ मुख्य क्यारेटरमा भने यो नै पहिलो चलचित्र हो । मेजर क्यारेक्टर निर्वाह गरेको यो पहिलो चलचित्र भएकाले आफूले यो चलचित्रलाई डेब्यु चलचित्र भन्ने गरेको नवीनले खुलाए ।
चलचित्रमा अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल ‘विशाखा’ विनिता घिमिरे, मोनिका दाहाल, विद्या कार्की, दिनेश दुलाल, केशव घिमिरे, लक्ष्मण विक्रम बस्नेत, अस्मिता बस्नेत आदिको मुख्य भूमिकामा अभिनय रहनेछ । महोत्तरीको बर्दीबासबाट छायांकन सुरु गरिएको यस चलचित्रमा चेतन सापकोटा, वसन्त सापकोटा, जुगल डंगोलको संगीतमा, राजु शाहको नृत्य निर्देशनमा, रामशरण उप्रेती छायांकनमा छन् । यही जेठबाट छायांकन थालिएका चलचित्रको ८० प्रतिशत छायांकन सकिएको र बाँकी छायांकन एक साताभित्र सकिने निर्देशक क्षत्रीले जानकारी गराए ।

प्रतिक्रिया