उचाइ लिन गहिराइमा पुग्नु जरुरी छ

Arjun-Pokharelसंगीत के हो जस्तो लाग्छ ?
यो भावना व्यक्त गर्ने एउटा माध्यम हो । यसमा रहेको मेलोडीमा शब्द उच्चारण गरिन्छ । संगीत लयात्मक प्रस्तुति पनि हो, जसले हरेक सजीव प्राणीलाई आफूतिर आकर्षण गर्नसक्छ ।
तपाईंले संगीत नै रोज्नुका कारण के हुनसक्छ ?
मेरो बाल्यकाल संगीतमय छ । बुबाले भजन गाउनुहुन्थ्यो । त्यसमा पनि त्यतिबेला सञ्चारमाध्यममा आएका गीत/संगीतले मेरो मानसपटलमा एक किसिमको छाप बसालेको थियो । त्यही छापले नै संगीतमा अगाडि बढ्न मलाई प्रेरित गर्‍यो ।
संगीतमा अगाडि बढ्न के गर्नुपर्छ ?
संगीतलाई आरोह र अवरोह दुई किसिमले पढ्ने गरिन्छ । यसमै अगाडि बढ्न गहिराइमा पुग्नु जरुरी छ । गहिरामा पुगेर उचाइ लिन यसमा निकै कठिन छ । आफूलाई सिस्टमेटिक रूपमा हिँडाउनु पर्छ । विभिन्न उतारचढाव झेल्नुपर्छ । त्यसपछि मात्र यो क्षेत्रमा अगाडि बढ्न सकिन्छ । यसमा अदम्य सहास र धैर्यता भएकाले मात्र लक्ष्यमा पुग्न सक्छ ।
तपार्इंलाई सबैभन्दा बढी मनपर्ने गीत/संगीत कुन हो ?
भक्तराज आचार्यको शब्द, संगीत र स्वर रहेको जहाँ छन् बुद्धका आँखा गीतको बोलको सबै पक्ष मनपर्छ ।
पहिलोपटक सुनेको गीत/संगीत ?
गायक गोपाल योञ्जनको यो मेरो टोपी बोलको गीत ।
मन नपर्ने गीत/संगीत ?
अरूको गीत नराम्रो भयो भनेर भन्न चाहन्नँ । मलाई जुन गीत/संगीतले मेरो कान अथवा दिमागलाई आनन्दित तुल्याउन सक्दैन । ती गीत/संगीत मलाई मनपर्दैन ।
आपैँmले संगीत भरेका मध्ये सबैभन्दा बढी मनपरेको गीत छ ?
चलचित्र वर्षादको सपना हजार.. बोलको गीत र जीवन साथीको तिमीसँग रिसाएर अरूसँग बोल्दिन.. गीत मलाई संगीतमा चित्त बुझेका गीत हुन् ।
आफूले संगीत भरेको तर चित्त नबुझेको गीत पनि होलान् नी ?
मेरो सबै गीतमा म आपैँmलाई चाहिँ चित्त बुझेकै छैन । गीत/संगीत तयार भएर बजारमा आउँदा कुनमा के नपुगेको कुनमा के नपुगेको जस्तो लागिरहन्छ ।
संगीत कुन विधामा काम गर्न उत्साह लाग्छ ?
संगीतमा मेरो तीन विधा छ । नेपाली लोक, शास्त्रीय र पश्चिमेली । यी विधामा मेरो अध्ययन हो । यी तीनै विधा मलाई सहजै लाग्छ ।
संगीतकारका रूपमा पहिलोपटक चिनाउन सफल गीत उल्लेख गर्नुपर्दा नी ?
चलचित्र दिलमायाको छुड्छकी साथ टुट्छकी नाता… बोलको गीतले मलाई संगीतकारका रूपमा सबै माझ चिनाएको हो ।
गीत/संगीतमा अनिवार्य मानिएका वाध्यवादक कति छन् ?
नेपालीपनका गीत/संगीतलाई आधार मानेर भन्नुपर्दा मादल, रिदम गितार, बाँसुरी, सारंगी विशेष मानिन्छन् ।
संगीतमा लागेर व्यावसायिक हुन सकिन्छ ?
संगीतका विभिन्न पाटा मध्ये एउटामा निपूर्ण छ र त्यसैलाई अगाडि बढाउन चाहन्छ भने त्यो व्यक्ति यसैमा व्यावसायिक रूपले चल्न पनि सक्छ ।
आफूलाई कस्तो संगीतकार भनेर चिनाउन चाहनुहुन्छ ?
मेरो कोसिस सधैँ त्यसमा हुन्छ जसमा स्रोताका रुचिहरू समेटियोस् । त्यसैले, सबैले मनपराउने संगीत गर्ने संगीतकारका रूपमा चिनिन चाहन्छु ।
कुन माहोलमा संगीत फुराउन सजिलो हुन्छ ?
जुनबेला आफ्ना मनलाई निर्धक्क गीत/संगीतमा समर्पित गर्न सकिन्छ । त्यो समय नविनतम संगीत फुर्छ । चाहे त्यो सवारी साधन चलाएको अवस्थामा होस् या एक्लै बसेको अवस्थामा ।
अहिलेसम्म गर्न नसकेको संगीत छ ?
म हरबखत मेरो कोसिस यसैमा हुन्छ कि म नयाँ र नविनतम संगीत गर्न सकौँ । तर, परिस्थिति र समयले गर्दा आफ्नो यस्तो सोचलाई पूर्णता दिन सकिरहेको छइनँ ।
अहिले बजारमा आएका गीत/संगीत प्राय: उस्तै लाग्छन् नी ?
एकअर्कामा समर्पण भाव भएका जति पनि गीत/संगीत छन् ती प्राय: एकै खालका हुन्छन् र लाग्छन् पनी । यिनको सम्बन्ध मायाप्रेमसँग भएर पनि होला सायद ।
संगीतमा लागेर के पाउनु भयो, के गुमाउनु भयो ?
यसमै लागेर पाएका र गुमाएका धेरै छन् । तर, भन्नुपर्दा सबैभन्दा ठूलो आत्मसन्तुष्टी पाएको छु । (सौस)

प्रतिक्रिया