आज तीन चलचित्र

काठमाडौं, २६  जेठ । अघिल्लो साता प्रदर्शनमा आएको चलचित्रले सिंगल रिलिजको मौका पाए पनि यस साता भने तीन चलचित्र भिड्ने भएका छन् । केही दिनअघिको लगातार बन्द हडतालमा निर्माताहरूले प्रदर्शन मिति पछि सारेपछि नेपाली चलचित्रको प्रदर्शनमा कमी हुँदै गएकामा आज शुक्रबारबाट भने हलमा आउने चलचित्रको संख्या ह्वात्तै बढेको हो । आजदेखि भिड्ने तीन चलचित्र हुन्– द्रव्य, नाइट क्विन र जिन्दगानी दर्पणछाया । यी तीन चलचित्रका निर्देशक क्रमश: मार्कण्डे दीपविन बस्नेत, आरबिके शरद र मनीष पन्त हुन् ।
यीमध्ये द्रव्य र जिन्दगानी दर्पणछाया उपत्यकाका हलमा मात्र आउन लागेका हुन् भने नाइट क्विन देशभरका हलमा हेर्न पाइनेछ । रोयल क्राउन इन्टरटेनमेन्टको ब्यानरमा निर्मित द्रव्यले पैसाका कारण मानिसहरू गलत क्रियाकलापमा फस्दै गएको यथार्थ उजागर गर्दै क्यासिनोमा लाग्नेहरूले भोग्नुपर्ने दु:खपीडा सन्देशमूलक ढंगले प्रस्तुत गरेको निर्देशक बस्नेतले बताए । उपत्यकाका हलमा मात्रै प्रदर्शन हुन लागेको यो चलचित्रमा विराज भट्ट, अशोक फुयाँल, अनुपविक्रम शाही, अमित पोखरेल, उत्सव शाह, अनु शाह, कल्पना शाहीलगायत कलाकार मुख्य भूमिकामा छन् । त्यसैगरी विशेषदेव पाण्डेको संगीत, महेश गोदारको नृत्य, शंकर महर्जनको द्वन्द्वनिर्देशन रहेको छ । जेबी कार्की द्रव्यका निर्माता हुन् ।
नाइट क्विनले एकभन्दा बढी केटा साथी बनाउन बाध्य एक युवतीका माध्यमबाट रेस्टुरेन्ट र डान्सबारमा काम गर्नेहरूको कथाव्यथा पर्दामार्फत अभिव्यक्त गरेको निर्माणटोली बताउँछ ।  ‘नारीप्रधान भए पनि यसले युवापुस्तालाई आकर्षित गराउने खालको विषयवस्तु समेटेको छ,’ निर्माता बिबी बुढाथोकी ‘नवीन’ले जानकारी गराए । राजेश हमाल, हसन खान, नवीन बुढाथोकी, उषा खरेल, कल्पना शाही, शान्ति गिरी, सुरवीर पण्डित, आरोहण बटला, निर्मल सेन्चुरी, लक्ष्मी अधिकारीलगायत कलाकारले अभिनय गरेको चलचित्र ननस्टप क्रियसन प्रालिको ब्यानरमा निर्माण भएको हो । कमल राई र पुनम राईको नृत्यनिर्देशन, अष्ट महर्जनको द्वन्द्व तथा विकास चौधरी र वसन्त सापकोटाको संगीत छ । अर्को चलचित्र जिन्दगानी दर्पणछाया श्रीनगर फिल्म्सको ब्यानरमा प्रदर्शन हुन लागेको हो । दिलीप रायमाझी, नन्दिता केसी, सन्तोष अग्रहरीका साथमा रजनी प्रधाानलगायत कलाकारको अभिनय रहेको चलचित्र उपत्यकामा मात्र प्रदर्शनमा आउन लागेको हो ।

प्रतिक्रिया