बन्दमा रंगकर्मी खोज्दै पूर्वतिर

फागुनको अन्तिम साता पनि फिक्कल निक्कै चिसो थियो । इलाम यात्राका लागि निस्किएका धेरै मायालु जोडी बिहान अबेरसम्म अनुहार देखाउने मुडमा थिएनन् होला । सिरक जिन्दावाद † मौसम थियो नै त्यस्तै । वरिपरि चिया बगानको बीच एउटा काठैकाठले बनेको सुन्दर र कलात्मक घर, न्यानो कोठा, चिसो मौसम । सम्झनुस्, गणेश रसिकको फिक्कलको घरजस्तो । त्यही सुन्दर घरमा बस्ने सौभाग्य मिल्यो । अचनाक फिक्कल रेडियो ‘लाउड स्पिकर’मा घन्कियो । नघन्कियोस् पनि किन, घरपति रसिक बा नै त हुन् फिक्कल एफएमका नाइके । फिक्कलमा दुई दिन दुई रात ‘हनिमुन टाइम’ थियो मेरा लागि । कारण लूना साथमै थिइन् । विवाह भएको दुई वर्ष भइसक्दा पनि काठमाडौंको भोजन युद्धबाट कहिल्यै उम्किन सकिएन । ‘घुम्न जाउँ’ भन्ने सबै गुनासाको एकमुस्ट समाधान थियो यो । मेरो मुख्य उद्देश्य फिक्कलका रंगकर्मी साथीहरूलाई भेट्नु र उनीहरूका बारेमा टिपोट गर्नु थियो । यसरी नै पूर्वाञ्चल फस्र्याउँदै हिँडेको थिएँ । धनकुटाका कुनाकाप्चा चहारेर, धरान, विराटनगर, दमक, विर्तामोडतिरको काम फत्ते गरेपछि म पाँचथरतिर उकालिँदै थिएँ । पूर्वको बन्दले म पिरोलिएको थिएँ । रनाहा छुट्थ्यो ।
जता गयो त्यतै थुनिनुपर्ने । बन्द र लोडसेडिङ नेपालकै ठूलो रोग बनेको छ अहिले । त्यसमाथि पूर्वका उद्योगधन्दा, कलकारखानाका अगाडि ‘बन्द’ लेखिएका फ्लेक्स् झुन्डिएका देख्दा विरक्तिबाहेक केही रहेन ज्यानमा । तर, स्वाधीनता र आत्मसम्मान भन्ने ‘जिनिस’ अचम्मको हुँदोरहेछ । मधेसीहरूको नाममा बन्द भोग्दाभोग्दा हैरान भएका सर्वसाधारण नागरिक त थरुहट बन्दमा रत्तिभर नआत्तिएका । मूल्य अकासिएको छ, कमाइधमाइ छैन, हिँडडुल, औषधि उपचारका लागि साधन छैन, त्यही पनि थरुहट आन्दोलनमा आपत्ति नहुनुको रहस्य रहेछ समानान्तर शक्तिको उदयको खुसी । सम्म तराई सोलोडोलो मधेस हो भनिरहेको एउटा समूहको विचारका विरुद्ध अर्को विचार जन्मियो थरुहट । त्यही भएर अन्य जातथरका नागरिकलाई सन्तोष लागेको रहेछ । सर्वसाधारण नागरिकले अनेकौँ दु:खका बीचमा फेरेको भ्रमको श्वासले कतिदिनसम्म काम गर्ने हो ‘लिम्बुवान प्रान्त’ लेखिएका अक्षर र मान्छेका मनले उत्तर दिएकै छन् । अनि अझै यी सबै कुराको उत्तर काठमाडौंले दिनुपर्ने स्थिति छ, जसलाई कुम्भकर्णको निद्रा सरेको छ । तिनको उत्तर नदिँदा पनि काठमाडौंको रौँ पनि हल्लिएको छैन । अर्को बसाइ थियो, इलाम बजार । उपल्लो किरातको बन्दले चार दिन त्यहीँ थेच्चारिनु पर्‍यो । त्यति सुन्दर ठाउँमा पुगेर एउटा सुन्दर संस्मरण बनाउँला भन्ने थियो । चोक बजारमा गाडी पाइन्छ कि भन्दै हरेक दिन कुर्न आउँदा धेरै समय खर्चिनु पर्‍यो । मेरै गाउँको खवास थरकै भाइ जीतबहादुर त्यहाँ प्रहरी रहेछन् । उनले मलाई पाँचथरसम्म पुर्‍याउने अनेक जुक्ति गरे, उपाय भएन । बन्दको चकमन्नतालाई तोड्दै चोक बजारमा दुईजना गाइने दाइ आइपुगे । इलाम चोक बजारको अर्को रमाइलो परेवाहरूको हुल पनि रहेछ । पूरै बजार ढाक्ने गरी परेवा उढ्दा रहेछन् र चोकमा चारो खान आउँदा रहेछन् । एउटा सुन्दर दृश्य कैद गर्न भ्याएँ, सयौँ परेवा बत्तिको तारमा लहरै परेट खेले जस्तै गरेर बस्ता रहेछन् ।

त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू
सोलुमा भारी बोकी जहान बच्चा पाल्नेहरू
अझै’नि लोकतन्त्र आ’को छैन है
जनताले भनेझैँ भाको छैन है ।
चालीसनजिक उमेरका कलम गन्धर्व र दलबहादुर गन्धर्व झापाबाट इलाम आएका रहेछन् । सानैदेखि सारंगी रेट्न थालेका यी एक जोडी कलाकारले सुनाएका सबै गीत समाजिक थिए । ‘आफूले देखे–भोगेको कुरा आइहाल्छ नि गीत बुन्दा,’ कमल ले भने ‘त्यस्तै दु:खी मानिसहरूसँगको संगत गरेर पनि बुन्छौँ हामी गीत ।’ यिनका कारुणिक स्वर, सारंगीले बुनेको आरोहअवरोह युक्त लय र मान्छेका कथा बुनिएका शब्दहरू सञ्चारमाध्यममा बज्न पाए भारतीय सस्ता हिन्दी गीतको दरिलो विकल्प हुन्थे होला जस्तो लाग्यो । सयौँ मान्छेलाई आकर्षित गरेर इलाम चोक बजारमा रुमाल थापेका यी दुई गाइने साथीको जीविकोपार्जनको बाटो पनि एफएम रेडियो बन्न सक्थे कि उ रुमालमा १० रुपियाँको नोट राख्नुबाहेक म अरू के नै गर्न सक्थेँ र । पत्रकार मित्र दीपक अधिकारीको घर पनि फिदिम नै रहेछ । छोटो बिदामा घर आएका दीपक बन्दले थुनिएका रहेछन् । लाग्यो, यो राम्रो अवसर हो । दीपक भएकै बेलामा फिदिम पुग्न सकियो भने त उनले पाँचथर घुमाउँछन् । फोनमा उनीसँग त्यही कुरा भयो । बन्द खुल्ने कुनै छाँटकाँट नभएपछि चौथो दिन मोटरसाइकलमै भए पनि जाने निर्णय गरियो । फिदिमका रंगकर्मी साथी माधव कल्पितले दुईवटा मोटरसाइकल पठाइदिए र हामी श्रीमान्श्रीमती उपल्लो किरातका सैन्य जत्थासँग डराउँदै उकालो चढ्यौँ । हरिया पहाडमा गुराँस फुलेका, तिनका बीचबाट घुमाउरो चिल्ला सडकमा उक्लिँदा त सबै दु:ख भुलिँदो रहेछ । बसमा भन्दा मोटरसाइकलमा यात्रा काइदाको हुँदो रहेछ । राँके पुगेपछि हुस्सुले ड्याम्म छोप्यो । मध्यदिनमा पनि अति चिसो । तातो केही खाऊँ भनेर हामी होटरतिर छिर्‍यौँ । होटलभित्र अरू मानिस पनि रहेछन् । फिदिममा भर्खरै लिम्बुवानहरूको सम्मेलन भएको रहेछ । होटलभित्र राजनीतिक गफ चल्दै थियो । एकजना दाजु बुरुक्क उफ्रिए, ‘मैले त भन्देको छु, अब तिनीहरूको उँभोबाट ६ इन्छ नघटाई हुँदैन । अबको आन्दोलन भनेकै यही हो ।’ साँच्चै भनेको मेरो मुटुको धड्कन साबिकको भन्दा दोब्बर भयो । मान्छेको उँभोबाट ६ इन्च घटाउँदा त टाउको त च्वाट्टै जाने भो त हौ । साथीहरूलाई छिटो खाएर बाटो लाग्ने इसारा गरेँ र निस्कियौँ पनि । होटलभित्र अर्को पनि रमाइलो विवाद चल्दै थियो । लिम्बुवान सम्मेलनमा लेखक भवानी बराललाई बोलाइएको रहेछ । एकजना दाइ कड्किँदै थिए, ‘हैन हाम्रो जातिमा चाहिँ पढेलेखेका, विद्वान्, पत्रकारहरू छैनन् । हामीले अझै क्षेत्री बाहुन नै खोज्नुपर्छ ?’
फिदिम बजारको मुखैमा हामीलाई ठूलो सिँगारिएको ‘लिम्बुवान प्रान्त’ गेटले स्वागत गर्‍यो । मेरो ध्याउन्न मित्र दीपकतिरै थियो । फिदिम बजार पुगेपछि फोन गर्छु त दीपक त लिम्बुवान पार्टीको गाडी चढेर झापातिर पो लागेछ । साथी भेट्ने एउटा उत्साह खत्रक्क भयो । ‘म तिमीलाई फिदिम घुमाउँला’ भनेको साथी त कुलेलम । न्यास्रोपन एकै छिनमा मेटियो । अन्य धेरै साथी, अग्रजहरू आइपुग्नुभयो । रंगकर्मी माधव कल्पितले धेरै सहयोग गर्नुभयो । कवि धर्मेन्द्रविक्रम नेम्वाङ पनि त्यहीँ पो रहेछन् । ‘लौ है साथी मेरो त आज गाउँमा पाँच ठाउँका कार्यक्रमको प्रमुख अतिथि बन्नु छ लागेँ,’… उनी पुरापूर व्यस्त रहेछन् पार्टीको काममा । अर्का कलाकार साथी मित्र लिङ्देन पनि लिम्बुवान आन्दोलनमा व्यस्त रहेछन् । झापाका रंगकर्मी नरेशजंग पनि फिदिममै रहेर लिम्बुवान आन्दोलनका लागि नाटक गर्दै हिँड्दा हरेछन् ।
एक साँझ रंगकर्मी, लेखक, पत्रकार साथीहरूसँग जमघट भयो । मित्र लिङ्देनले म आबद्ध नाट््य समूह शिल्पीको ‘मेधेस तराई’ नाटक अभियानको बारेमा सुनेका रहेछन् । उनले मलाई अनुरोध गरे, ‘यदि लिम्बुवान राज्यका पक्षमा नाटक गरिदिने हो भने हामी तपाईंहरूलाई सहयोग गर्छौं ।’ लिम्बुवान परिषद्ले नौवटा जिल्लालाई लिम्बुवान प्रान्त घोषणा गरेको रहेछ । मैले भनेँ, ‘त्यसरी त हामीले नाटक गर्न मिल्दैन तर संघीयताका कुरा उठाएर हामी नाटक गर्न सक्छौँ ।’ त्यतिखेर शिल्पी त्यसैको तयारीमा थियो । ०६५ वैशाख पाँचदेखि शिल्पी ‘अँध्यारोविरुद्ध’ शीर्षकमा नाटक र कविता लिएर पूर्वाञ्चल भ्रमणमा निस्कियो । तल पूर्वपश्चिम राजमार्ग पूरै तनावग्रस्त थियो । राजमार्गको बलियो साधन भनेको रिक्सा नै हो यतिखेर । घन्टौँसम्म रिक्सामा चढेर काम चलाउँछन् मानिसहरू अहिले । अनेकौँ दु:ख गरेर काठमाडौं आइपुगियो । काठमाडौं त उस्तै छ बा उ जिल्लाका दु:ख र बिजोगको कुनै चासो छैन काठमाडौंलाई । काठमाडौं अझै पनि मेलम्चीको झमेला, ट्राफिक जाम र बालुवाटार धर्नामै अल्मलिइरहेको रहेछ । काठमाडौंलाई एउटै कुराको चिन्ता रहेछ, त्यो हो, ‘खसीको मासुको मूल्यवृद्धि ।’

प्रतिक्रिया