विश्वकप क्रिकेट लिग–२ : नेपालले स्कटल्याण्डविरुद्ध बलिङ गर्दै, लगातार तेस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज हुने खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिंगनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई बलिङको निम्तो दिएका हुन् ।

नेपालले बुधबार नेदरल्याण्ड्ससँग खेलेको टोली नै मैदान उतारेको छ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । त्यो खेलमा नेपालले निर्धारित ५० ओभरको १ बल बाँकी रहँदा २ सय ९७ रनको लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डसँग असम्भव जस्तै देखिएको खेलमा नेपाल विजयी भएको थियो । करण केसी धर्यता देखाउँदै ओडिआईमा पहिलो अर्धशतक बनाएपछि नेपालको सम्भव भएको थियो । गत साताको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको‌ यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ । स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ । ८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १४ खेलमा १० अंकका साथ सातौँ स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । लिग– २ को खेलपछि असार १ (१५ जुन) गते आइतबारबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

आज हुने स्कल्याण्डविरुद्ध नेपालको प्लेईङ ११ मा रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी रहेका छन् । खेल नेपाली समय अनुसार आज दिउँसो ३ बजेर ४५ मिनेटमा सुरू हुनेछ । नेपाल लगातार तेस्रो जितको लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया