नेपालले आज स्कटल्यान्डसँग खेल्ने

काठमाडौँ । नेपालले क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गत आइतबार स्कटल्यान्डसँग खेल्ने छ । सिरिजमा यसअघि भएको दुवै खेलमा जित हात पारेको नेपाल उत्साहित छ । यसअघि बुधबार मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकीय इनिङ्ससँगै स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले लगातार दोस्रो जित हात पारेको थियो ।


नेपालले बुधबार भएको खेलमा शीर्ष २ मा रहेको नेदरल्यान्डमाथि ५ विकेटको जित हात पारेको थियो । लगातार दोस्रो जितसँगै सातौँ स्थानमा यथावत नेपालले १४ खेलमा १० अंक पुर्याएको थियो । नेदरल्यान्ड २१ खेलमा २६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ ।

बधुबारको शृंखलाकै सबैभन्दा उत्कृष्ट खेल खेलेको नेपालले नेदरल्यान्डले दिएको २२६ रनको लक्ष्य ४७ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपाललाई लगातार जित दिलाउन आरिफले सर्वाधिक ७८ रन बनाए । ९९ बल खेलेका उनले २ छक्का र ७ चौका प्रहार गरे ।

यसअघि सोमबार भएको खेलमा तल्लोक्रमका ब्याटर करण केसी नायक बन्दा नेपालले यस वर्ष आइसिसी क्रिकेट विश्वकप लिग–२ मा पहिलो जित हात पारेको थियो । सोमबार सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा ९ विकेट गुमाउँदै पूरा गरेको हो । सो खेलमा नेपाललाई जित दिलाउन करणले सर्वाधिक ६५ रन बनाए । अविजित रहेका उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सोही खेलमा स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले सर्वाधिक ३ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले २ मेडनसहित ४७ रन दिए ।

सोही खेलमा स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाएका थिए । उनले ७२ बलको सामना गर्दै १२ चौका र १ छक्का प्रहार गरेका थिए । फिनले म्याकक्रियाथले ६७ बलमा ३ चौका र १ छक्कासहित ५५ रन बनाए । कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यु क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे ।
सुरुआतका १२ खेलमा एउटा पनि जित हात पार्न नसकेपछि नेपालले मोन्टे देसाईको अनुबन्ध नवीकरण गरेको थिएन । यसपछि स्टुवार्टले नेपाली टोलीको जिम्मा लिएका थिए ।

प्रतिक्रिया