काठमाडौँ । बेल्जियमका प्याट्रिक डे विल्डे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै आफ्नो योजनाहरू सार्वजनिक गरेका छन् । बिहीबार एन्फाले महिला टोलीको प्रशिक्षकको रूपमा सार्वजनिक गरेसँगै उनले शुक्रबार आफ्नो योजना सार्वजनिक गरेका हुन् ।
यसअघिको नेपाल बसाईं राम्रो भएकाले नै उनले नयाँ चुनौती स्वीकार गरेको बताएका छन् । उनले राष्ट्रिय टोलीको प्रशिक्षक हुनु ठूलो जिम्मेवारी र देशको प्रतिनिधित्व गर्ने सम्मानको कुरा भएको बताएका छन् ।
उनले यसअघि नेपालमा काम गरिसकेका छन् । उनी गत फागुनमा भएको तेस्रो नेपाल सुपर लिगमा काठमाडौँ रेजर्सका प्रशिक्षक थिए । विल्ड युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले सोमालिया र रुवान्डाको मुख्य प्रशिक्षक तथा चीनको यू–२३ टिम र अल्जेरियाको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् ।
विल्डेले आफू सधैँ सकारात्मक पक्षबाट अगाडि बढ्ने प्रशिक्षक भएको बताएका छन् । उनले आफ्नो स्टाफ र व्यवस्थापनसँग पनि राम्रो सम्बन्ध बनाएर काम गर्ने र यो राम्रो भावना टिममा पनि जाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली टोलीको विभिन्न कुरा परिवर्तन हुनेछन् भन्ने कुरामा जोड दिएका छन् । यी परिवर्तनहरूले छोटो र लामो समयमा सकारात्मक प्रभाव पार्ने आशा राखेका छन् ।
खेल खेल्ने शैली, खेलाडीहरूको छनोट प्रक्रिया, र प्राविधिक स्टाफको संरचनामा पनि परिवर्तन आउने उनको भनाइ छ । उनले आफ्नो नेतृत्वमा विजेता बन्ने टिम बनाउने र जित्न चाहने खेलाडीहरूको टिम बनाउने लक्ष्य लिएका छन् । विल्डेले धेरै खेलहरू हेरेको र अन्डर–२० टोलीको क्याम्पमा पनि प्रतिभाहरू देखेको बताएका छन् । उनले खुला ढोकाको नीति अपनाउने र यू–२० बाट केही प्रतिभाशाली खेलाडीहरूलाई १८ जनाको सिनियर टोलीको क्याम्पमा बोलाउने बताए ।
उनको मुख्य लक्ष्यहरूमध्ये एक धेरै नेपाली खेलाडीहरूलाई विदेशमा खेल्न प्रोत्साहन गर्नु रहेको छ । यसले राष्ट्रिय टोलीलाई उच्च स्तरमा पु¥याउने र स्थानीय खेलाडीहरूले पनि विदेशमा खेलेका खेलाडीहरूबाट सकारात्मक अनुभव सिक्न सक्ने बताएका छन् । उनले विदेशी स्काउटहरूको पनि सम्पर्कमा रहने र प्रतिभाहरूलाई थप आशा दिने बताएका छन् ।
विल्डेले अहिलेको ‘कम्फर्ट जोन’ भन्दा बाहिर गएर काम गर्ने बताएका छन् । नवनियुक्त प्रशिक्षकको रूपमा विल्डले एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाली टोलीको नेतृत्व गर्नेछन् । नेपाल समूह ‘एफ’ मा उज्वेकिस्तान, लाओस र श्रीलंकासँग छ ।
सबै छनोट खेलहरू उज्वेकिस्तानमा २९ जुनबाट सुरु हुनेछन् । यो समूहको विजेता टोली अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट हुनेछ । उनले अहिले आफ्नो मुख्य ध्यान २ खेलका प्रतिद्वन्द्वी लाओस र श्रीलंकालाई हराउनु महत्वपूर्ण भएको बताए । उनले उज्वेकिस्तान जस्ता देशहरूको स्तरमा पुग्नु आफ्नो लागि ठूलो चुनौती भएको स्वीकार गरेका छन् ।
राजेन्द्र तामाङ नेपाली राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा रहने भएका छन् । एन्फाले यसअघि नै भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेकाले अब महिला टोलीमा २ सहायक प्रशिक्षक रहनेछन् ।
प्रतिक्रिया