अम्मान । उज्बेकिस्तान र जोर्डन पहिलोपटक विश्वकपमा छनोट भएका छन् । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने ४८ टोलीको विस्तार गरिएको २०२६ विश्वकपमा स्थान बनाउने आठौँ र नवौँ टोली बनेका हुन् ।
३ आयोजक राष्ट्रले स्वतः आफ्नो स्थान बनाइसकेका छन् । यसअघि जापान, न्युजिल्यान्ड, इरान र अर्जेन्टिना पनि छनोट भइसकेका थिए । उज्बेकिस्तानले संयुक्त अरब एमिरेट्स (युएई)सँग गोलरहित बराबरी खेल्दा जोर्डनले ओमानमाथि ३–० को जित निकालेको हो ।
विश्व वरीयतामा ५७औँ स्थानमा रहेको उज्बेकिस्तानको जनसंख्या ३६ मिलियन छ । सोभियत संघबाट छुट्टिएपछि सन् १९९२ मा पहिलोपटक स्वतन्त्र राष्ट्रको रूपमा खेल खेलेको उज्बेकिस्तान २ वर्षपछि फिफाको सदस्य बनेको हो ।
उज्बेकिस्तान सन् २००६ मा विश्वकपनजिक पुगेको थियो । त्यो बेला बहराइनसँग प्लेअफ खेलिरहेको अवस्थामा पहिलो लेगमा १–० ले जितेको थियो । रेफ्रीको गल्तीका कारण फिफाले खेल पुनः खेलाउन आदेश दियो र दोस्रो लेगमा उज्बेकिस्तान बराबरीमा रोकिएपछि गोलअन्तरको आधारमा बाहिरियो । उज्बेकिस्तानले सन् १९९६ देखि हालसम्म सबै एएफसी एसियन कप खेलमा सहभागिता जनाएको छ । सन् २००४ देखि प्रत्येकपटक नकआउट चरणसम्म पुगेको छ । उज्बेकिस्तान सन् २०११ मा सेमिफाइनल र गत संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।
जोर्डनले एसियन कप २०२३ को फाइनल खेलेको थियो । अहिले विश्व वरीयतामा ६२औँ स्थानमा छ । जोर्डनले पहिलोपटक सन् १९८६ मा विश्वकप छनोटमा भाग लिएको थिए र यो सातौँपटक हो । सन् २०१४ मा जोर्डनले उरुग्वेविरुद्ध इन्टरकन्टिनेन्टल प्लेअफ खेलेको थियो ।
प्रतिक्रिया