एमालेमा कित्ताकाट : ओलीका ‘झोले’, इतरका ‘एमाले’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार आफू ‘झोले’ भएको सार्वजनिक अभिव्यक्ति दिए । आफू जनता र राष्ट्रको झोला बोक्ने झोले भएको भन्दै यसमा आफूलाई अप्ठ्यारो नलाग्ने बताएका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा दल तथा नेता विशेषका कार्यकर्तालाई व्यंग्य गर्दै ‘झोले’ भन्ने गरिएको छ । ओलीले यसरी सञ्जालमार्फत् आक्रमण गर्नेलाई लक्षित गर्दै आफू देश र जनताको झोले भएको अभिव्यक्ति दिए । लगत्तै सामाजिक सञ्जालमा ‘म झोले हो’ अंकित पोस्टर सार्वजनिक गरे । त्यसपछि झोले बन्न एमाले नेताहरूको ताँती लाग्यो । तर, यही झोले अभियानमा पनि एमालेको गुट प्रष्ट कित्ताकाट भएको छ । एकातिर ओलीको पछिपछि को पहिले झोले बन्ने ‘कम्पिटिसन’मा छन् भने केही नेता/कार्यकर्ता भने आफू कसैको झोले नभई केवल ‘एमाले’ भएको भन्दै प्रतिवाद गरिरहेका छन् ।

ओलीसँगै झोले बन्ने प्रतिस्पर्धामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सहभागी भए । सचिवहरू लेखराज भट्ट, योगेश भट्टराई र पद्मा अर्याल पनि झोले बने । ओलीको इतर खेमाका नेताहरूले भने आफूलाई झोले प्रमाणित गरेका छैनन् । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे र गुरु बराल अहिलेसम्म झोले बनेका छैनन् । सचिवहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ पनि झोले अभियानमा छैनन् ।

महाधिवेशनको संघारमा रहेको एमालेमा ओलीको विकल्प मानिएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक सक्रियता बढाउँदै गर्दा ओलीले यो अभियान चलाएका हुन् । यसलाई महाधिवेशन केन्द्रित गुट परीक्षणका रूपमा पनि लिन थालिएको छ ।

काउन्टरमा ‘म एमाले’ अभियान

ओलीको झोले अभियानको पार्टीमा चर्को विरोध मात्रै भएको छैन, काउन्टरमा ‘म एमाले हो’ अभियान सुरु गरिएको छ । पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले स्वयंसिद्ध तथ्यलाई प्रमाणित गर्नुनपर्ने ज्यामितीय सिद्धान्तको उदाहरण दिँदै आफू केवल एमाले कार्यकर्ता भएको बताए । ‘म एमाले कार्यकर्ता हुँ । त्यहाँ मेरो विश्वासको मात्र होइन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ,’ उनले भने । ओलीइतर नेता–कार्यकर्ताले ‘म एमाले हो’ अभियान चलाउँदै सामाजिक सञ्जालमा ‘जबज, एमालेको नीति र नेतृत्वप्रति बफादार’ रहेको भन्दै पोस्टर सेयर गरिरहेका छन् ।

प्रतिक्रिया