पुलका सामान चोरेर बिक्री गरेको आरोपमा रोशी गाउँपालिका– ७ का वडाध्यक्ष अशोक गौतम पक्राउ

काभ्रे । पुरानो पुलको सामान चोरी गरी अवैध तरिकाबाट बिक्री गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिका– ७ का वडाध्यक्ष अशोक गौतम पनि पक्राउ परेका छन् । उनलाई प्रहरीले आज सोमबार पक्राउ गरेको हो ।

यसअघि नै काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलबाट फलामका सामान चोरेर टिपरमा लोड गरिरहेका चार जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । घटनास्थलबाट दुईवटा टिपरसहित चोरीमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको थियो ।

२०८१ सालको असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका– ६ को सिमानामा रहेको पक्की पुल बगाएको थियो । सोही दुर्घटनामा क्षतिग्रस्त पुलमा प्रयोग भएका फलामका महत्त्वपूर्ण पार्टपुर्जाहरू चोरी हुने क्रम सुरु भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

२०८२ जेठ १२ गते दिउँसो १२ः५० बजे रोशी खोलाको किनारमा दुईवटा टिपरमा फलाम लोड गरिरहेको अवस्थामा वडाध्यक्ष गौतमसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूले बाढीले बगाएको पुलको बाँकी फलामका पार्टपुर्जाहरू चोरी गरी टिपरमा राखेर लैजाने तयारी गरिरहेका थिए ।

पक्राउ पर्नेहरूमा दुई जना चोरीमा संलग्न तथा दुई जना टिपर चालक छन् । मण्टु कुमार, स्थायी ठेगाना भारत, बिहार मोतिहारी, हाल काभ्रे, बनेपा नगरपालिका– ७ का जितेन्द्र पासवान, स्थायी ठेगाना सर्लाहीको मलंगवा नगरपालिका– ३, हाल काभ्रेको बनेपा नगरपालिका– ७ र टिपर चालकहरू, मानबहादुर तामाङ, भुम्लु गाउँपालिका– ९, काभ्रे (बा ५ ख ४६२६ नम्बरको चालक) र रमेश लामा, रोशी गाउँपालिका– ८, काभ्रे (बा २ ख ४००१ नम्बरको चालक) रहेका छन् ।

यस अघि नै प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर चोरी कसूरअन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको थियो । चोरीका लागि प्रयोग गरिएको दुवै टिपर पनि नियन्त्रणमा लिइएको थियो ।

वडाध्यक्ष समेत उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले गौतमलाई आज सोमबार पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया