काठमाडौं । आइसिसी विश्वकप लिग– २ अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसलाई हराउँदै विजयी भएको छ ।
यो त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो जित हो ।
यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । फेरि नेपालले बुधबार भएको दोस्रो खेलमा पनि नेदरल्यान्डसलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले हराउँदै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलब एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा आरिफ शेखले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए । यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।
ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए । भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए ।
नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलब एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।
यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहले ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए ।
यो जितसँगै नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौँ स्थानमा छ । पराजित नेदरल्यान्डस २१ खेलमा २६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।
प्रतिक्रिया