वीरगञ्ज । मधेस प्रदेश-सशस्त्र प्रहरी बल नेपालअन्तर्गत मधेस प्रदेशको छिन्नमस्ता बाहिनीले विपद् व्यवस्थापन र सीमा सुरक्षामा उल्लेखनीय उपलब्धि हासिल गर्दै प्रदेशमा शान्ति सुरक्षामा सक्रियता बढाएकाे छ । बाहिनीका हालै नियुक्त डिआईजी कृष्ण ढकालको नेतृत्वमा समुदाय-केन्द्रित विपद् प्रतिकार्य योजना र तस्करी नियन्त्रणका ठोस पहलहरू प्रभावकारी रूपमा अगाडि बढिरहेका छन् ।
विपद् व्यवस्थापनका लागि स्थानीय जनशक्ति उत्पादन
मनसुनसँगै आउने बाढी, डुबान, आगलागीजस्ता प्रकोपहरूसँग सामना गर्नका लागि छिन्नमस्ता बाहिनीले ‘विपद् स्वयंसेवक’ निर्माण अभियान सुरु गरेको छ । मधेश प्रदेशका आठै जिल्लामा २१ दिने विशेष तालिममार्फत स्थानीय जनशक्तिलाई विपद् प्रतिकार्यका लागि तयार पारिनेछ ।
डिआईजी ढकालले भने, ‘सक्षम स्थानीय जनशक्ति तयार पार्न सक्यौँ भने धनजनको क्षति न्यूनतममा सीमित गर्न सकिन्छ, विपद्को बेला पहिलो प्रतिक्रिया दिने स्थानीयहरू नै सशक्त हुनुपर्छ ।’
हालसम्म सप्तरीमा ३५, धनुषामा ३०, महोत्तरीमा २६, सर्लाहीमा २६ र रौतहटमा ३८ जना गरी जम्मा १४० जनाले तालिम प्राप्त गरिसकेका छन् । बाँकी रहेका बारा, पर्सा र सिरहामा पनि २५-२५ जना स्वयंसेवकलाई तालिम दिने तयारी अन्तिम चरणमा पुगेको छ ।
यस अभियानसँगै DIG स्तरको Counterparts Meeting, BTN स्तरको बैठक, जिल्ला समन्वय समिति (BDCC) को बैठक, तीनवटा क्षेत्रीय तालिम र १३ वटा अनुशिक्षण तालिमसमेत सञ्चालनको तयारी भइरहेको छ ।
सीमा सुरक्षा र तस्करी नियन्त्रणमा तीव्र सफलता
डिआईजी ढकालको आगमनसँगै मधेस प्रदेशका सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको छ । उनले कार्यभार सम्हालेको २८ दिनभित्र मात्रै सशस्त्र प्रहरी बलले विभिन्न स्थानमा छापा मारेर ४ करोड ११ लाख २८ हजार ४३४ रुपैयाँ बराबरको अबैध सामान नियन्त्रणमा लिई सरकारी ढुकुटीमा जम्मा गराउन सफल भएको छ ।
‘सीमाबाट हुने तस्करी मधेश प्रदेशको सुरक्षामा गम्भीर चुनौती हो.’ डिआईजी ढकालले भने, ‘हामी यसलाई पूर्णरूपमा नियन्त्रण गर्ने दृढ संकल्पमा छौँ ।’
उनले सीमावर्ती क्षेत्रमा नियमित गस्ती, सुराकी सूचना संकलन, आकस्मिक छापा र स्थानीय सरोकारवाला निकायहरूसँग समन्वयमार्फत तस्करीविरुद्धको अभियान तीव्र बनाएका छन् ।
स्थानीयवासीहरूले समेत सुरक्षामा आएको सुधारको प्रशंसा गरेका छन् । एक स्थानीय व्यापारीका अनुसार पहिले तस्करहरू निडरताका साथ काम गर्थे, अहिले उनीहरू लुकेर बस्न थालेका छन् ।
कानुनी शासन बलियो बनाउँदै
डिआईजी ढकाल अनुशासन इमानदारी र रणनीतिक सोचका लागि सशस्त्र प्रहरी बलमा परिचित नाम हुन्। उनले यसअघि पनि विभिन्न संवेदनशील स्थानहरूमा तस्करी नियन्त्रण र विपद् व्यवस्थापनमा सफल नेतृत्व दिइसकेका छन् ।
उनको नेतृत्वमा मधेश प्रदेशमा विपद् व्यवस्थापनदेखि सीमा सुरक्षासम्मका प्रयासले कानुनी शासन बलियो बनाउँदै गएको छ । छिन्नमस्ता बाहिनीको यो पहलले प्रदेशलाई आत्मनिर्भर, सुरक्षित र विपद् प्रतिरोधी बनाउने दिशामा गम्भीर प्रगति गरिरहेको छ ।
प्रतिक्रिया