रेग्मीको शपथलगत्तै बन्द

काठमाडौं, १ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको शपथ लिएलगत्तै नेकपा–माओवादीसहित पाँच राजनीतिक दलले गरेको नेपाल बन्दका कारण बिहीबार जनजीवन कष्टकर बन्न पुग्यो ।

प्रधानन्यायाधीश रेग्मीको नेतृत्व अस्वीकार गर्दै आएका ती दलले प्रमुख चार राजनीतिक दलले एकतर्फी ढंगले निर्णय गरेको भन्दै बिहीबार मध्याह्नदेखि आह्वान गरेको बन्दले उपत्यकाको जनजीवन प्रभावित बनेको थियो । उनीहरूले मध्याह्न १२ देखि ५ बजेसम्म बन्द गरेका थिए । अकस्मातको बन्दमा बन्दकर्ताले सवारीसाधन तोडफोडदेखि आगजनी गरेका थिए । उनीहरूले विशेष गरी सरकारी कार्यालय र निजी प्रयोजनमा चलेका सवारीसाधनलाई निसाना बनाएका थिए ।
बन्दकर्ताले छाउनीस्थित छाउनी संग्रहालयको बा.१ झ ४५८४ नम्बरको कोरला गाडीमा आगो नै लगाए । बन्दकर्ताले ललितपुरको कुपण्डोलमा स्वास्थ्य सेवा विभाग टेकुको बा.१ झ ८८०४ नम्बरको गाडी र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग पाटनको बा.१झ ५३२५ नम्बरको गाडी तोडफोड गरे ।
बन्द अवज्ञा गरेको भन्दै निजी प्रयोजनमा चल्ने गडी पनि तोडफोडमा परे । पाटनमा बा.६च ७३४२ नम्बरको प्राइभेट कारको अगाडिको सिसा फुटाई क्षति पुर्‍याइएको छ । तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्ने दुई जना काठमाडौंका छन् भने दुई जना ललितपुरका छन् ।
बन्दको समयमा उपत्यकाका सडकमा फाटफुट मोटरसाइकल चले पनि चोक–चोकमा जम्मा भएका बन्दकर्ताले अवरोध गरेका थिए । कतिपय मोटरसाइकललाई रोकी टायरबाट हावा फुस्काउनेदेखि तोडफोडसम्मका कार्य बन्दकर्ताले गरे । अकस्मात भएको बन्दका कारण सर्वसाधारण भने हिँडेरै गन्तव्यतर्फ लागेको देखिन्थे ।

प्रतिक्रिया