नागरिकता त्याग्ने नेपालीहरू बढ्नु चिन्ताको विषय

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५१ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । नागरिकता त्याग्ने ५१ मध्ये पालुङटार र गोर्खा नगरपालिकाबाट मात्रै ९–९ जना छन् । सिरानोक गाउँपालिका र गण्डकी गाउँपालिकाका ७–७ जनाले नागरिकता त्याग गरेका छन् । त्यसैगरी सहिद लखन गाउँपालिकाको ५ जना, अजिरकोटको गाउँपालिकाको ३ जना, बारपाक सुलीकोट गाउँपालिकाको ३ जना, चुमनुब्री गाउँपालिका ३ जना, आरुघाट गाउँपालिका ३ जना, भीमसेन थापा गाउँपालिकाका २ जनाले नागरिकता त्यागेका छन् । यसैगरी मोरङमा चालु आर्थिक वर्षको ८ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १८ जनाले मात्रै नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको स्थानीय प्रशासनले जनाएको छ । गोरखा र मोरङ जिल्लाको समाचार उदाहरणका लागि मात्रै प्रस्तुत गरिएको हो ।

नेपाली नागरिकता त्याग्नेहरूको संख्या हरेक जिल्लामा बढेको छ । देशभरको समग्र आँकडा हेर्दा २०७५ देखि २०८० सालसम्म ५ वर्षको अवधिमा १ हजार ४६० जनाले नेपाली नागरिकता त्यागेको देखिन्छ । विभिन्न सिलसिलामा देश छाड्ने नेपालीहरूले अन्य देशको नागरिकता लिने क्रम बढेको पहिलेदेखि नै हो, तर पछिल्ला केही वर्षदेखि त्याग्ने क्रम पनि बढेको छ । किनकी अन्य देशको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान नेपालको कानुनमा छ । प्रक्रिया पुर्याएर नागरिकता परित्याग गर्नेले चाहेको अवस्थामा गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र पाउँछन् ।

रेकर्डमा नआए पनि अन्य देशको नागरिकता लिने नेपालीहरूको संख्या लाखौँ पुगिसकेको अनुमान सहजै गर्न सकिन्छ । किनकी सन् २०२३ मा मात्रै बिदेसिएका करिब १७ लाख नेपालीहरू मध्ये करिब ७० हजारले स्थायी बसोबासका लागि बिदेसिन लागेको कुरा अध्यागमन कार्यालयको विवरणमा उल्लेख गरेका छन् । यस हिसाबले पनि विदेशी नागरिकता लिने नेपालीहरूको संख्या वार्षिक ७० हजार रहेको मोटामोटी अनुमान गर्न सकिन्छ ।

यो अनुपातमा नेपाली नागरिकता त्याग्नेको संख्या अहिलेसम्म नगन्य छ । तर, विदेशी नागरिकता लिनु भनेको नै नेपाली नागरिकता त्याग्नु हो । डिभी चिठ्ठा परेर अमेरिका जानेबाहेक विदेशी नागरिकता प्राप्त गर्ने अधिकांश पढेलेखेका र आर्थिक रूपमा पनि सक्षम व्यक्तिहरू हुन् । सामान्य नेपालीहरूलाई विकसित मुलुकहरूले भिसा त दिँदैनन् भने नागरिकता दिने कुरै भएन ।

पढेलेखेका र आर्थिक रूपमा समेत सक्षम व्यक्तिहरू धमाधम विदेशी नागरिक बन्नु भनेको नेपालका लाथि थप अधोगतिको संकेत हो । जसलाई लेखपढ गराएर सक्षम बनाउनका लागि राज्यले लाखौँ खर्च गरिसकेको छ, जसले रोजगारी सिर्जना गर्ने हैसियत राख्छन् उनीहरू नै धमाधम विदेश पलायन हुनु भनेको सामान्य समस्या होइन । आर्थिक रूपमा विपन्नका लागि नेपालमा अवशर नभएको, जीवन निर्वाह गर्न ज्यादै नै कठिन भएको सत्य हो, तर आर्थिक रूपमा सक्षमहरूका लागि नेपालमा अवशर शून्य भएको कुरा गलत हो ।

थप सुखसुविधाका लागि उनीहरू विकसित देश खोज्दै विदेश पलायन भएका हुन् । विश्वव्यापीकरणको यो युगमा विदेश पलायन रोक्न त्यति सजिलो छैन । हाम्रोजस्तो विकासोन्मुख देशका लागि त झन् सहज छैन । छिमेकी देश भारतमा यो समस्या अझ बढी छ । भारतको गृह मन्त्रालयले सन् २०२१ मा एक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षको अवधिमा मात्रै १ लाख ६३ हजार ३७० जनाले भारतको नागरिकता त्याग गरेको जनाएको थियो । उक्त प्रतिवेदनअनुसार सबैभन्दा धेरै ७८ हजार २८४ जनाले अमेरिकाको नागरिकताका लागि भारतको नागरिकता त्याग गरेका हुन् ।

त्यसैगरी, अस्ट्रेलियाको नागरिकता लिन २३ हजार ५३३ जना तथा क्यानडाको नागरिकताका लागि २१ हजार ५९७ जनाले भारतको नागरिकता त्याग गरेका प्रतिवेदनमा उल्लेख छ । विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भएको देश, वार्षिक ७ प्रतिशतका दरले आर्थिक वृद्धिदर भएको देश भारतको त त्यस्तो हालत छ भने नेपालको यस्तो हालत किन नहोस् । तर डेढ अर्ब जनसंख्या भएको भारत र पौने ३ करोड जनसंख्या भएको नेपाललाई यो मामिलामा एउटै टोकरीमा राखेर विश्लेषण गर्न पटक्कै मिल्दैन । किनकी भारतका लागि अवशर हो, तर नेपालका लागि अभिशाप हो ।

प्रतिक्रिया