क्षमताभन्दा बढी कैदीबन्दी

Dailekha-Karagarदैलेख, १४ फागुन । राणाकालीन समयमा निर्मित दैलेख कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । १६ बन्दी क्षमताको कारागारमा ६० कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको छ भने कारागार भवन पनि पुरानो भएकाले थप असुविधा छ ।

सुविधा सम्पन्न कारागार निर्माण सुरु गरिए पनि निर्माण हुन सकेको छैन । नयाँ भवनमा ८४ कैदीबन्दी अट्ने कारागार व्यवस्थापनले जनाएको छ । जस्ताको छाना र कच्ची भवन भएकाले कारागारका कोठामा पानी चुहिने समस्या छ । ‘पानी पर्दा कोठा हिलाम्य हुन्छन्,’ बन्दी डम्बरबहादुर खड्काले भने, ‘बाल्टिन थापेर पानी बाहिर Ïयाक्छौँ ।’ त्यस्तै उपियाँ र उडुसले सताएको बन्दीले बताएका छन् । औषधि प्रयोग गरी नष्ट गर्न अनुरोध गरे पनि कारागार प्रशासनले बेवास्ता गरेको उनीहरूको आरोप छ ।
कैदीबन्दीले १ साउनदेखि बन्दी हित कोष समितिसमेत गठन गरेका छन् । पुस्तकालय स्थापना र असहाय बन्दीलाई सहयोग गर्न कोष स्थापना गरेको समितिका संयोजक भद्रबहादुर शाहीले बताए । ‘मासिक १० रुपियाँ प्रत्येकले कोषमा जम्मा गर्न थालेका छौँ,’ उनले भने, ‘पुस्तकालय नहुँदा दिन बिताउन समस्या भएको छ । पत्रपत्रिका पनि पाएका छैनौँ ।’
जिल्लाकै कैदीबन्दीलाई साँघुरो भएको समय सुर्खेत र बाँकेका ६ कैदीबन्दीलाई दैलेखमा ल्याइएको छ । करणी र कर्तव्य ज्यान मुद्दा अभियोग खेपिरहेका बन्दीको आचरण सुधार्न दैलेख कारागारमा ल्याइएको हो । कारागारमा चार महिला कैदीबन्दीसहित ६० कैदीबन्दी छन् । कारागारमा दुई बालबालिका पनि रहेको जेलर शारदाप्रसाद श्रेष्ठले बताए ।
श्रेष्ठले ८४ कैदीबन्दी क्षमताको सुविधासम्पन्न कारागार निर्माणका क्रममा रहेको भए पनि ठेकेदारका ढिलाइका कारण निर्माण हुन नसकेको बताए । ‘महिला पुरुषका लागि छुट्टै भवन भएको अत्याधुनिक भवन निर्माण पूरा हुन अझै एक वर्ष लाग्नसक्छ,’ श्रेष्ठले भने । सशस्त्र द्वन्द्वका बेला २१ जेठ ०५९ मा नेकपा (माओवादी)ले बम विस्फोट गराएपछि कारागार भवन जीर्ण बनेको हो । जीर्ण भवनमै ६० कैदीबन्दी सकससँग कैद भुक्तान गरिरहेका छन् ।

प्रतिक्रिया