फेरि अर्को विपत्तिमा मुलुक

बिनासकारी भूकम्प गएको आठ वर्ष बित्दा नबित्दै मुलुकले फेरी त्यसै अर्को भूकम्पको सामाना गर्नु परेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा निकै ठूलो धनजनको क्षति भएको छ । सयौंको ज्यान गएको छ, हजारौं घाइते भएका छन् ।

खर्बौं रुपैंया बराबरको धन सम्पत्ति क्षति भएको अनुमान गरिएको छ । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पको तुलनामा शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्प सानो हो । तर मानिसहरु घरभित्र मस्त निदाई रहेको समयमा भूकम्प गएका कारण निकै ठूलो मानवीय तथा पशु चौपायको क्षति हुन पुगेको छ ।

भूकम्पको ठूलो धक्का गण्डकी पश्चिमको सबै क्षेत्रमा महशुस गरिए पनि केन्द्रविन्दु रहेको जाजरकोट र आसपासका जिल्लामा धेरै ठूलो क्षेति भएको छ । उद्धार कार्य जारी रहेका कारण क्षतिको यकिन विवरण भने आउन सकेको छैन । सरकारले तत्कालैदेखि उद्धार र राहतका लागि आफ्ना सबै संयन्त्र प्रयोग गरेको छ , तर सुविधा सम्पन्न अस्पतालहरु निकै टाढा भएका कारण कतिपय गम्भीर घाइतेको उपचारमा समस्या देखिएको छ ।
भूकम्प भनेको बाढी पहिरो जस्तो पूर्व संकेत दिएर आउने प्राकृतिक विपत्ति होइन ।

आए पछि मात्रै थाह हुन्छ , तर त्यतिन्जेल गम्भीर क्षति पु¥याइ सकेको हुन्छ । जति सक्दो छिटो उद्धार तथा राहत प्रदान गर्नु बाहेक अर्को विकल्प रहँदैन । केन्द्रविन्दु रहेको क्षेत्र अत्यान्त विकट भए पनि सरकारले राहत र उद्धारका लागि देखाएको तदारुकता प्रति स्थानीय जनताबाट खासै गुनासो सुनिएको छैन । दुर्गम ठाउँ भए पनि २०७२ सालको तुलनामा यस पटक सरकारी पक्षको उद्धार कार्य चुस्त देखिनुको मुख्य कारण विगतको अनुभव पनि हो ।

आठ वर्ष अघि उद्धारका क्रममा अनुभव प्राप्त जनशक्ति परिचालन गर्ने अवशर यस पटक प्राप्त भएको छ । साथै यस पटक स्थानीय सरकारले उद्धारका काम गरेको छ , विगतमा स्थानीयतहमा जनप्रतिनिधि नहुँदा राहत उद्धारमा कठिनाई भएको थियो , रहत वितरण सहज हुन सकेको थिएन । तर यस पटकको राहत र उद्धारका लागि मुख्य समस्या भनेको आसपासमा सुविधा सम्पन्न अस्पताल नहुनु र ठूला एयरपोर्ट नहुनु हो । क्षति पुर्याउने भनेको भुकम्पले भन्दा पनि कमजोर भौतिक संरचनाले हो ।

उदाहरणका लागि केही वर्ष अघि जापानमा ८ रेक्टर स्केलको भूकम्प आउँदा समेत एक जना पनि मानवीय क्षति भएन । किनकी भूकम्पका अनुभवबाट पाठ सिकेर जापानले बलिया भौतिक संरचना निर्माण गरेको थियो । यस्तो पाठ हामीले कहिले सिक्ने ? भन्ने प्रश्न सबै भन्दा महत्वपूर्ण हो । २०७२ सालको भूकम्पबाट यस्तो पाठ सिक्न नसकेकै कारण शुक्रबार जाजरकोटको सानो रेक्टर स्केलको भूकम्पले पनि ठूलो क्षति पुर्याएको हो ।

ढुंगो–माटोले बनेका बहुतले परम्परागत घरहरु भुकम्पका बेला धराप सावित हुन्छन् भन्ने कुरा २०७२ सालको भूकम्पले पुष्टि गरिसकेको थियो । त्यसैले त्यो बेलाको भूकम्प प्रभावित क्षेत्रमा घर निर्माण गर्दा सुरक्षाको मापदण्ड अपनाइएको छ । यस्तो सुरक्षाको मापदण्ड त्यतिबेलै देशभरी नै अपनाउनु पर्ने थियो । त्रुटी यहीँ निर भएको हो । यस्तो विपत्तिका बेल राहत तथा उद्धार कार्यमा तत्काल जुट्नु र सरकारलाई साथ सहयोग गर्नु सबै नेपालीको कर्तव्य हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देखाएको तदरुकता स्वागतयोग्य छ । तर यस्तो बेला सरकारको विरोध गर्ने , प्रधानमन्त्रीको खिल्ली उडाउने काम समेत भएका छन् । भूकम्पको समाचार आउना साथ हतपत राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि गर्न लागेको फ्रान्स भ्रमण रोक्नु पर्छ भन्दै राप्रपाका नेता रविन्द्र मिश्रले बक्तव्यवाजी गरे ।

देश विपत्तिमा फँसेको बेला राजनीतिक दाउपेच साँध्न उद्धत हुनु भनेको ज्यादै घटिया प्रवृति हो । खासगरी राजावादी तथा नेकपा एमाले पार्टीले यस मामिलामा आफ्ना कार्यकर्ताहरुलाई संझाउनु पर्ने आवश्यकता खड्किएको छ । सरकारका तर्फबाट केही त्रुटी भएका छन् भने दुई–तीन पछि विरोध गरे भइहाल्छ ।

प्रतिक्रिया