लथालिंग कांग्रेस

सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक करिब एक वर्षको अन्तरालमा आजदेखि बस्दैछ । गत वर्ष असार २७ गते सुरु भएको बैठक करिब एक साता चलेको थियो । त्यस यता मुलुकमा धेरै राजनीतिक घटना भएका छन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ । तीनपटकसम्म संघीय सत्ता समीकरण परिवर्तन भएको छ । सात वटै प्रदेशमा पनि तीनपटक मुख्यमन्त्री परिवर्तन भएका छन् । प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । भुटानी शरणार्थी प्रकरणजस्तो अत्यन्त गम्भीर मुद्दामा तत्कालीन मन्त्रीहरू नै अभियुक्तका रूपमा थुनामा छन् । तर, मुलुकमा यति धेरै घटना हुँदासमेत नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक ठानेनन् । पार्टीको विधान तथा संविधानले नै नचिनेका निकायबाट नेपाली कांग्रेसको नाममा निर्णय भए ।

यस्तो परिपाटी भनेको बहुदलीय लोकतन्त्र होइन । नेपाली कांग्रेसले आफ्नै विधानमा पनि कम्तिमा दुई महिनाको एकपटक केन्द्रीय समितिको बैठक बस्नुपर्ने प्रावधान राखेको छ । कम्तिमा दुई महिनाको एकपटक बैठक बस्ने भनेर विधानमा राखिनुको अर्थ हो, ‘मुलुकमा महत्वपूर्ण राजनीतिक घटना भएका बेला जुनसुकै बेला पनि केन्द्रीय समितिको बैठक राखिनुपर्छ ।’ निर्वाचन र सरकार निर्माण तथा परिवर्तनका भनेका संसद्मा रहेका राजनीतिक दलका लागि ज्यादै महत्वपूर्ण घटना हुन् । यस्ता महत्वपूर्ण घटना हु“दासमेत केन्द्रीय समितिको बैठक आवश्यक नदेख्ने नेपाली कांग्रेसले बहुदलीय लोकतन्त्रको संवर्धन गर्ला भनेर जनताले कसरी विश्वास गर्ने ?

नेपाली कांग्रेसको ओरालो यात्रा तीव्र गतिमा छ भन्ने कुरा कुनै आरोप होइन, राष्ट्रिय निर्वाचनको मत परिणामले पुष्टि गरेको तथ्य हो । बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राज्य र जनताबीचको सम्पर्क सेतु भनेका राजनीतिकदलहरू नै हुन् । त्यसमध्ये पनि सत्तारुढ राजनीतिकदलको भूमिका अहं हुन्छ । यो एक वर्षलाई हेर्ने हो भने गत पुसदेखि फागुनसम्मको तीन महिनाबाहेक नेपाली कांग्रेस नै सत्ताको अहं भूमिकामा छ । सुरुका ६ महिना त नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गरेको थियो । गत चैत यता पनि नेपाली कांग्रेस नै सरकारको मुख्य घटक हो । जनताले कुनै पनि पार्टीको मूल्यांकन गर्ने भनेको सत्तामा रह“दा मुलकलाई के दियो ? भन्ने नै हो । सुशासन दियो कि दिएन ? विकास दियो कि दिएन ? जनताले हेर्ने भनेको यही हो ।

नेपाली कांग्रेसलाई संस्थागत रूपमा अघि बढाउन सभापति शेरबहादुर देउवा यसपटक मात्रै होइन, विगतमा नेतृत्व गर्दा पनि असफल भएकै हुन् । अब त उमेरका कारण पनि सभापति देउवाले शारीरिक र मानसिक रूपमा पहिलेको जत्तिको पनि कार्यसम्पादन गर्न सक्ने अवस्था छैन । तर, अझै तीन वर्षसम्म देउवाले नै कांग्रेसको नेतृत्व गर्ने म्यान्डेट डेढ वर्षअघि सम्पन्न १४औँ महाधिवेशनले दिइसकेको छ । सभापति देउवा त उमेर अवस्थाका कारण निष्कृय भए, तर उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरू तथा केन्द्रीय सदस्यहरू किन निष्कृय भए ? उनीहरूलाई जनता तथा कार्यकर्ताबीच जान केले बाटो छेक्यो ? भन्ने प्रश्न कम गम्भीर छैन ।

सभापतिको अनुमतिविना महामन्त्रीले गर्न सक्ने कामहरू पनि थुप्रै छन् । सभापतिले केन्द्रीय समितिको बैठक नबोलाएको कारण मात्रै कांग्रेसको जनमत घटेको होइन । सभापति बाहेकका अरूले आफ्नो जिम्मेवारी के कति निर्वाह गरे त ? भन्ने प्रश्नको लेखाजोखा पनि कार्यकर्ता तथा सचेत जनताले गरेका छन् । सभापति देउवा र महामन्त्री गगन थापामा केही भिन्नता नदेखेकै कारण कांग्रेसको भविष्यप्रति कार्यकर्ता आशावादी हुन सकेनन् । कम्युनिस्टहरू विभाजन हुँदा कांग्रेसले पाउनुपर्ने लाभ राष्ट्रिय स्वतन्त्र पार्टीले पाइसकेको अवस्था छ ।

प्रतिक्रिया