भारत–पाकिस्तानबीचको युद्धविराम स्थायी होस्

आणविक शक्ति सम्पन्न छिमेकी देश भारत र पाकिस्तानबीच केही दिनयता जारी सैन्य द्वन्द्व शनिबार साँझ भएको युद्धविरामले तत्कालका लागि थामिएको छ । साथसाथै युद्धविरामले वार्ताको माध्यमबाट उनीहरूबीचका अन्य समस्या समाधान गर्दै दीर्घकालीन शान्ति स्थापनाको बाटो खोलिदिएको छ । कश्मिर क्षेत्रको स्वामित्वका विषयलाई लिएर विगत साढे ७ दशकदेखि पटकपटक भएका द्वन्द्व र युद्धका कारण यी २ देश मुलुकले निकै ठुलो क्षति बेहोरिसकेका छन् ।

कश्मिरको पहलगाम घटनामा संलग्न अपराधीलाई कारबाही गर्ने भन्दै भारतले गत बुधबार पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेपछि सुरु भएको दोहोरो सैन्य झडपले विश्वकै ध्यान तानेको थियो । विगतमा युद्ध हुँदा खासै चासो नराख्ने अमेरिकाले यसपटक युद्धविरामका लागि लगातार प्रयास गरिरहनुको बास्तविक कारणलाई भारत र पाकिस्तान दुवै देशले आत्मासात गरे भने यो युद्धविराम स्थायी हुने सम्भावनासमेत देखिन्छ ।

अमेरिकी मध्यस्थतालाई स्थायी युद्धविरामसम्म पुर्याउन पहल गर्नु दुवै देशको हितमा छ । आणविक हतियारको भण्डारण रहेका देशबीच भएको गोला, बारुद हानाहानको युद्धमा कसको पल्ला भारी देखियो ? भन्ने प्रश्नले खासै अर्थ राख्दैन भन्ने कुरा दुवै देशले बुझ्नुपर्छ । यसैगरी आफ्ना जनताबीच युद्धको औचित्य पुष्टि गर्न हिजोको जस्तो सहज अवस्था छैन । किनकी सत्य, तथ्य सूचनाको पहुँचबाट जनतालाई धेरै दिनसम्म अलग राख्न अबका दिनमा सम्भव छैन । विगतमा यस्तै युद्ध हुँदा दुवै देशका जनताले सडकमा उत्रेर आ–आफ्ना सेनाको मनोबल बढाउन नारा जुलुस गरेको देखिन्थ्यो । तर यसपटक यो परिस्थिति न भारतमा देखियो, न पाकिस्तानमा । लोकप्रियतावादका लागि युद्धको बाटो रोज्ने युग सकिएको यथार्थ दुवै देशका शासकहरूले आत्मसात गरे भने स्थायी युद्धविराम सम्भव छ ।

भारत र पाकिस्तान दुवै देशले आफ्नो धरातलीय यथार्थलाई आत्मसात गरेर स्थायी शान्तिको बाटोमा हिँड्नु दक्षिण एसिया मात्र नभएर समग्र विश्वकै हितमा छ । दक्षिण एसियाको सबैभन्दा ठूलो अभिशाप भनेको गरिबी हो । दक्षिण एसियामा गरिबी निवारणको प्रयास अपेक्षित रूपमा सफल नहुनुका विविध कारणमध्ये निकै हदसम्म भारत र पाकिस्तानबीचको द्वन्द्व पनि हो भन्ने कुरा यी २ देशहरूले हरेक वर्ष विनियोजन गर्ने रक्षा बजेटको अंकले पुष्टि गर्छ । प्रतिव्यक्ति आम्दानीको हिसाब गर्ने हो भने यी दुवै देश विश्वका गरिब मलुकहरूमध्ये नै पर्छन् ।

देशको आम्दानी सेना पाल्न तथा हतियार खरिदमा खर्च भएकै कारण जनताकोे जीवनस्तर सुधार कम प्राथमिकतामा परेको हो कि भन्ने भान परेको छ । जसको प्रभाव छिमेकी देशहरूमासमेत परेको छ । भारतसँग ३ तिर सिमाना जोडिएका कारण नेपाल पनि अछुतो छैन । छिमेकी देशहरूलाईसमेत रोजगारी दिनसक्ने स्रोत, साधन र सम्भावना बोकेका देश भारत र पाकिस्तान इगोको लडाइँ छाडेर मित्रताका साथ अघि बढे भने समग्र दक्षिण एसियाको समृद्धि टाढा छैन ।

युद्धविरामलाई मुख्य समस्याका रूपमा रहेको कश्मिर प्रकरण समाधान गर्ने मौकाका रूपमा सदुपयोग गर्न दुवै देशले ढिलाई नगरुन् । पहिलो कुरा त अमेरिकी चासो यी दुवै देशका लागि अवसर हुन सक्छ । दोस्रो कुरा लडाइँको माध्यमबाट साविकको सम्पूर्ण कश्मिरमा अधिपत्य जमाउने सपना न त भारतको पूरा हुन सक्छ न त पाकिस्तानको । अब २ वटा विकल्प मात्रै छ । एउटा विकल्प विगतमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको सहमतिअनुसार जनमत संग्रह हो । अर्को विकल्प यी २ देशले अहिले जेजसरी कश्मीरको भूभाग चर्चेका छन्, त्यसैलाई स्थायी सम्झौताको माध्यमबाट निरन्तरता दिनु । जित्नै नसकिने युद्धमा होमिएर जनतालाइ गरिबीको दलदलमा फँसाइरहनु कुनै कोणबाट पनि उपयुक्त होइन । पुरानो पुस्ताले गरेका कमीकमजोरी निरन्तरता दिनु नयाँ पुस्ताको अयोग्यता हो । भारत र पाकिस्तानका वर्तमान शासकहरूले आफ्नो योग्यताको उच्चतम उपयोग गरुन् ।

प्रतिक्रिया