‘नरसिंहा अवतार’ मेरो महत्वकांक्षी सिनेमा हो

नरसिंहा अवतारबाट महानायक राजेश हमालले ८ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दै हुनुहुन्छ । यसकारण पनि यो चलचित्र विशेष र प्रतीक्षित मानिएको छ ।

ध्रुव न्यौपाने, अभिनेता–निर्माता

आगामी जेठको दोस्रो साताबाट प्रदर्शनमा आउन लागेको एक्सन प्रधान चलचित्र ‘नरसिंहा अवतार’का निर्माता मध्येका एक हुन् ध्रुव न्यौपाने । यसअघि उनले ‘हिरो रिर्टन्स’ र ‘मायावी’ लगायत आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय र निर्माणमा संलग्न युवा व्यवसायी न्यौपाने पछिल्लो समय चलचित्र निर्माणलाई पनि निरन्तरता दिइरहेका छन् । प्रदर्शनको मिति नजिकिँदै गर्दा यतिबेला उनी ‘नरसिंहा अवतार’को प्रचारप्रसारमा व्यस्त छन् । राजेश हमाल, निर शाह, नीति शाह, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रबाट उनी अलि बढी आशावादी पनि देखिन्छन् । कलाकारितामा समेत आफ्नो पृथक पहिचान बनाएका अभिनेता तथा निर्माता न्यौपानेसँग सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानी:

० कलाकारितामा जम्न नसकेर निर्माणमा लाग्नुभएको हो ?

त्यसो होइन, आफूलाई सुहाउँदो भूमिका पाएको खण्डमा काम गर्दै आएको छु । म्युजिक भिडियोहरू पनि गरिरहेको छु जुन आमदर्शकहरूलाई थाहा भएकै कुरा हो । जहाँसम्म निर्माणको प्रश्न छ पहिले पनि ‘हिरो रिटन्र्स’ र ‘मायावी’मा सहकार्य गरेकै हुँ ।

० ‘हिरो रिटन्र्स’ र ‘मायावी’ले खासै व्यापार गर्न सकेन । ‘नरसिंहा अवतार’बाट कस्तो आशा गर्नुभएको छ ?

आगामी जेठको दोस्रो साताबाट प्रदर्शनमा आउने ‘नरसिंहा अवतार’ले बक्स अफिसमा राम्रो गर्नेमा म विश्वस्त छु । ‘नरसिंहा अवतार’बाट महानायक राजेश हमालले ८ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गर्दै हुनुहुन्छ । यसकारण पनि यो चलचित्र विशेष र प्रतीक्षित मानिएको छ । नेपाली चलचित्रको इतिहासमै सबैभन्दा लामो पोस्टर (६० फिट) केही दिनअघि सार्वजनिक गरिएको थियो । जसले छुट्टै चर्चा पाइरहेको छ । यो मेरो महत्वकांक्षी चलचित्र पनि हो ।

० नेपाली दर्शकले कस्तो खालको चलचित्र बढी रुचाउँछन् ?

आ–आफ्नो रुचिको कुरा हो, कसैलाई एक्सन मनपर्छ भने कसैलाई रोमान्टिक । तर जे जस्तो भए पनि नेपाली दर्शकले राम्रो चलचित्र नै बढी रुचाउँछन् । जस्तै वास्तविक कुरालाई उठान गरेको कथा त्यस कथा भित्रको पात्र जो पहिल्यैबाट चर्चित छन् । निर्देशकको नाम र उसले गरेको अगाडिको काम हेरेर पनि त्यस्ता चलचित्र दर्शकले बढी मन पराएको पाइन्छ ।

० हाम्रो समाज उदार बन्दै गएको हो ?

समय परिवर्तनशील छ । विगतमा चलचित्र हेर्न हलमा नै गएपछि मात्र सम्भव हुन्थ्यो । अहिले हात हातमा मनोरञ्जनका गतिविधि हेर्ने सुविधा छ । देश विदेशको खबर, जानकारी मिनेटभित्र विश्वभरी फैलिन्छ, संसारभरिको जानकारी एकै ठाउँमा बसेर लिन सकिन्छ भने नेपाली समाज यतिको खुला र उदार हुनु स्वभाविक नै हो जस्तो लाग्छ ।

० तपाईंका लागि चलचित्र व्यवसाय पनि हो कि आत्मसन्तुष्टि लागि मात्रै ?

मानिसको जिन्दगीमा व्यापार साथै आत्मसन्तुष्टि दुबै हुनु जरुरी छ । त्यसैले दुवै पक्षलाई बचाएर चलचित्र बनाउनु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।

० निर्माण व्यवसाय, प्लटिङ र होटल व्यवसायमा पनि संलग्न हुनुहुन्छ चलचित्र बनाउनुचाहिँ रहर हो कि बाध्यता ?

व्यवसायिक पृष्ठभूमिमा हुर्केको भए पनि सानैदेखि नै हिरो बन्ने सपना थियो । सुरुआती समयमा एउटा कुशल कलाकार बन्ने सोचले चलचित्र क्षेत्रमा प्रवेश गरेको हुँ । पायल, प्लान, सन्त्रास, क्राइमलगायत आधा दर्जन चलचित्रमा नायकको रूपमा काम गरे । सँगसँगै दर्जनौँ भिडियोमा पनि मोडलिङ गरे । यसै क्रममा म त व्यावसायिक मान्छे किन चलचित्र नबनाउने भन्ने सोच आयो र चलचित्र निर्माणमा प्रवेश गरेको हुँ । यसलाई रहर भन्नु कि बाध्यता ।

० विषयवस्तुको बारेमा भन्नुपर्दा के भन्नुहुन्छ ?

चलचित्र ‘नरसिंहा अवतार’ एक्सन तथा सोसल ड्रामामा आधारित छ । दीवाकर भट्टराईको लेखन तथा निर्देशन, राजेश हमाल, निर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिषा भट्टराई, प्रशान्त ताम्राकार आदिको जीवन्त अभिनयका कारण पनि ‘नरसिंहा अवतार’ले आमदर्शकको मन जित्नुका साथै सबै तह र तप्काका दर्शकलाई हलसम्म डो¥याउन सक्षम हुनेछ भन्ने विश्वास छ ।

० तपाईंका आगामी योजना के छ ?

नेपाली सिनेमा निर्माणका लागि आवश्यक सबै प्रकारका इकुमेन्ट एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले प्रोडक्सन हाउस सञ्चालन गर्ने योजनामा छु । जहाँ लाइट, क्यामरा लगायतका सिनेमा निर्माणमा प्रयोग हुने उपकरणहरू उपलब्ध हुनेछन् । प्रोडक्सन हाउसबाट वर्षमा कम्तिमा एउटा चलचित्र निर्माण गर्ने योजना छ ।

० निर्माता–निर्देशक र नायिकामा कहिलेकाहीँ विवाद पनि उत्पन्न हुन्छ, कारण के हो ?

त्यो एकआपसमा आउने समस्या हरेक किसिमका हुन्छन् । कतिपय आर्थिकमा मेलमिलाप हुँदैन र सम्झौता अनुसारको व्यवहार भएन भने त्यस्तो अवस्था आउने हो ।

० निर्माता–निर्देशकले नायिकालाई अंग प्रदर्शन गर्न दबाब दिन्छन् भन्ने सुनिन्छ, त्यस्तै हो ?

कतिपय चलिचित्र कुन कथामा बन्दै छ भन्ने विषय नायिकाले पहिला नै सम्झौता गरेका हुन्छन्, सोही अनुरूप अन्तिममा पुगेर केही नायिकाले पहिलाको सम्झौताअनुसार अभिनय गर्न इन्कार गर्छन् । तर निर्देशकले पनि नेपालमा सुहाउने खालको कथामा चलचित्र निर्माण गर्नुपर्ने हुन्छ । निर्माता–निर्देशक र नायिकाबीच मौलिक चलचित्र र सोही अनुसारको कथामा सम्झौता हुनु जरुरी छ ।

प्रतिक्रिया