कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे ।

‘विधेयक कार्यसूचीमा समावेशदेखि पारित गर्ने क्रमसम्म विचार गर्दा यो एकाध व्यक्तिले मात्र गरेको होइन, यो सुनियोजित तरिकाले गरिएको हुन सक्छ, यसको जिम्मा नैतिक रूपमा संसद्को नेतृत्वले समेत लिनुपर्छ’, सापकोटाले भने ।

उनले नेपाल शिक्षक महासंघसँग संसदबाट असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भए पनि हालसम्म पारित नहुन दुःखद् भएको टिप्पणी गरे । ‘सहमति कार्यान्वयन गर्नुपर्नेमा सरकारका सरोकार भएका पक्षहरूबीचको अन्तरविरोध बाहिर देखिनुले सरकार सहमतिप्रति गम्भीर नभएको पुष्टि हुन्छ’, उनले भने ।

प्रवक्ता सापकोटाले शिक्षा विधेयक यथाशीघ्र पारित गरी शिक्षकलाई आन्दोलनका लागि बाध्य नपार्न आग्रह गरे । माओवादीले विपदबाट हुन सक्ने क्षतिको पूर्वानुमान गर्दै क्षति कम गर्न र राहत तथा उद्धारमा आवश्यक तयारी गर्न सरकारसँग माग गरेको छ ।

प्रवक्ता सापकोटाले कृषि क्षेत्रको समग्र समस्या समाधान गर्दै कृषकहरूलाई आवश्यक पर्ने मल, बीउ तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया