नेपाली जनताका मौलिक चाड पर्वमध्ये असार १५ को महत्व विशिष्ठ छ । हरेक चाडका छुट्टाछुट्टै विशेषता छन् । जसमध्ये असार १५ को विशेषता भनेको हर्षोल्लासका साथ हिलोमा पसेर धान रोप्नु हो । १५ असारको दिन हिलोमा नपसे अगति परिन्छ भन्ने धार्मिक मान्यता रहेको छ । अरू प्रायः चाडपर्वमा व्रत बस्ने चलन हुन्छ, तर १५ असारमा व्रत बसिँदैन मीठो मीठा परिकार खाएर नाचगान गरिन्छ । आमरूपमा १५ असार मनाउने चलन नेपालमा मात्रै छ । नेपालमा प्रायः सबै जाति समुदायले साझा चाडका रूपमा असार १५ मनाउँछन् । विशेष गरी पहाडी क्षेत्रमा धुमधामसँग १५ असार मनाउने गरिन्थ्यो । पछिल्लो समयमा १५ आसर धुमधामसँग मनाउने प्रचलनमा धेरै नै कमी आएको छ । असारे गीतहरू गुन्जिन छाडेका छन् । २०६१ सालमा सरकारले असार १५ लाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको छ । असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने थालिएको पनि दुई दशक पुगेको छ । तर जुन उद्देश्यका लागि सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको हो त्यो उद्देश्य पूरा भएको छैन । न त १५ असारमा गाइने गीत तथा बजाइने बाजाहरूको संरक्षण तथा प्रवर्धन भएको छ, न त धान खेतीको विस्तार तथा उत्पादनमा वृद्धि हुन सकेको छ । एक हिसाबले भन्नुपर्दा धान दिवस कर्मकाण्डमै सीमित भएको छ ।
नेपालमा धेरै प्रकारका अन्न उत्पादन हुन्छन् । सबै अन्नको आआफ्नै महत्व भए पनि धानको महत्व विशेष छ । धान नेपालको अर्थतन्त्रको मेरुदण्ड त हुँदै हो, त्यसबाहेक धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा पनि धानको विषेश महत्व छ । धानको परिकारविना कुनै पनि चाडपर्व तथा पूजाआजा अपूरा हुन्छन् । दुई जना नेपालीबीच भेट हुनासाथ भात खानुभयो ? भनेर सोध्ने प्रचलन छ । जनसंख्या वृद्धिको अनुपातमा धान उत्पादनमा वृद्धि हुन सकेको छैन, तर धानको उपभोग भने निरन्तर वृद्धि भइरहेको छ । विगतमा हिमाली तथा उच्च पहाडी क्षेत्रमा धानको भन्दा अरू अन्नका परिकारहरू बढी प्रयोग हुन्थ्यो । तर हिजो आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा पनि धानकै परिकार बढी प्रयोग हुन्छ । स्थानीय उत्पादन बिक्री गर्ने र त्यो पैसाले धानको चामल किन्ने क्रम हिमाली तथा उच्च पहाडी क्षेत्रमा बढ्दो छ ।
कुनै बेला देशको कुल ग्राहस्थ उत्पादनमा धानको योगदान ४० प्रतिशतभन्दा बढी थियो । धान निर्यातबाट ठूलै परिमाणमा विदेशी मुद्रा आर्जन हुन्थ्यो । तर, अहिले कुल ग्राहस्थ उत्पादनमा धानको योगदान आठ प्रतिशत छ । धान चामल आयात बापत ठूलो परिमाणमा विदेशी मुद्रा खर्च हुन थालेको छ । आफ्नो जग्गा जमिन बा“झो राखेर विदेशबाट आयातित धान चामल उपभोग बढ्नु भनेको दुःखद् पक्ष हो । विगतमा अरू अन्न उत्पादन हुने जग्गा बाँझो रहे पनि केही फरक नपर्ने तर धान उत्पादन हुने जग्गा बाझो राखियो भने ठूलो पाप लाग्ने धार्मिक मान्यता थियो । धान र धनलाई पर्याय मानिन्थ्यो । खेतिपातीतर्फ किसानहरूमा विकर्षण बढ्दै जानुमा मुख्य दोषी भनेका सरकारको नीति निर्माणतहमा रहने व्यक्तिहरू नै हुन् । जसले धान दिवसका दिन गमलामा धान रोप्ने गरेका छन् । यतिसम्मकी पाल्पा जिल्लाको अर्गेली फाँटमा सेनराजाहरूले बनाइदिएका कुलाहरूबाट सयौं वर्षदेखि धान रोपँइँ हुँदै आएको छ । तर, ती कुलाहरू अहिले जीर्ण भइसकेका छन् । मर्मतका लागि राज्यले बजेट दिँदैन ।
सेनराज्य कालमा, मल्ल राज्यकालमा तथा राणाको शासनकालमा धान खेतीका लागि राज्यस्तरबाट जे जति लगानी गरिएको थियो, यतिबेलाको गणतान्त्रिक कार्यकालमा त्यति लगानी गरिएको छैन । नेपालकै पानीले सिँचाइ गरेर भारतले नेपाललाई वार्षिक खर्बौं रुपैंया बराबरको धान निर्यात गर्ने गरेको छ । तर नेपालमा न सिँचाइको व्यवस्था गरिएको छ, न मलकारखाना स्थापना गरिएको छ । जबसम्म धानमा नेपाल परनिर्भर हुन्छ तबसम्म समृद्धि असंभव छ ।
प्रतिक्रिया