दोहोरो अंकले घट्यो नेप्से, ९ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अंकले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा रु ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६ सय १२ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ । यो कम्पनीको रु ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया