पशुपतिनाथको मन्दीरमा सुनको जलहरी राख्ने क्रममा ठूलो परिमाणमा आर्थिक भ्रष्टाचार भएको आशंका महालेखा परीक्षकको बार्षिक प्रतिवेदनमा गरिएको थियो । तर छानविनका क्रममा आर्थिक भ्रष्टाचारको आकार खासै ठूलो नभएको तथ्य फेला परेको समाचार आएको छ । १ सय सय ८ किलो सुनको जलहरी निर्माण गरी चढाइएकोमा तीन वर्ष पछि तौलँदा करिव एक केजी घटेको पाइएको छ ।
आर्थिक आकारमा यो खासै ठूलो भ्रष्टाचार होइन । तर नैतिक रुपमा भने नेपालको इतिहासनै कलंकित हुने गरी भ्रष्ट्राचार गरिएको रहेछ । जलहरीमै तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी , तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली लगायत १३ जना व्याक्तिको नाम उल्लेख गरिएको तथ्य फेला परेको छ । नाम उल्लेख गर्नेक्रममा लेखिएको बेहोराको भाषा हेर्ने हो भने प्रधानमन्त्री ओलीले व्याक्तिगत रुपमा जलहरी चढाएको सन्देश जाने खालको छ । राज्यकोषबाट मन्दिरको गर्भगृहभित्र रहने एउटा जलहरी पÞmेर्दासमेत एक दर्जन बढी मान्छेको नाम लेखिनु अनैतिक मात्रै होइन अपराध समेत हो ।
शिलालेखमा त लेखिएकै थियो थियो, मूल शिवलिङ्गमाथि रहने जलहरीमैं व्यक्तिको नाम लेख्ने सोच या लोभ कसरी आयो होला ? राज्यकोषमात्रै होइन, आफ्नै निजी सम्पत्तिले कसैले जलहरी निर्माण गरे पनि त्यस्तो सम्पदामा व्यक्तिको नाम लेख्ने अनुमति नदिइनुपर्ने हो । प्रधानमन्त्रीले नै खवरदारी गर्नु पर्ने हो । सदाको लागि पशुपतिको गर्भगृहमैं नाम कुँदिन्छ भने धेरै धनाढ्यहरूले दानका नाममा सम्पदा कब्जा गर्न सक्नेछन् ।
पहिलो कुरा त सामान्य ज्वरो आउँदा सिटामल समेत खान नपाएर , सामान्य झाढा पखाला लाग्दा जीवननल समेत खान नपाएर वर्षेनी हजरौं बालबालिकाले जीवन गुमाउनु पर्ने मुलुक हो हाम्रो । यस्तो आर्थिक अवस्था भएको बेला राज्यको ढुकुटीबाट ८० करोड रुपैंया खर्च गरेर सुनको जलहरी राख्नु पर्ने किन ? त्यसमा पनि एक मना कम्युनिष्ट सरकारका प्रधानमन्त्रीले । रणबहादुर शाहको पालामा चढाइएको चाँदीको जलहरी करिव २ सय वर्षसम्म टिकेकै थियो । करिव ५२ वर्ष अघि राजा महेन्द्रका पालामा पनि चाँदीकै जलहरी चढाइएको थियो । यदी जिर्ण भएको थियो भने चाँदीकै जलहरी चढाउन सकिन्थ्यो ।
राखिएको तीन वर्ष पछि गत आइतबार जलहरीको तौल लिँदा करिव एक केजी घट्नुको कारणबारे तत्कालिन प्रधानमन्त्री ओलीका समर्थकहरुले अनौठो तर्क राखेका छन् । उनीहरुको तर्क छ –‘ जलहरीमा चढाइने दुध केही समय पछि अमिलो दही बन्छ , त्यही दहीको अमिलोका कारण जलहरीको तौल घटेको हो । ’ यो तर्क गलत हो भन्न सकिन्न , किनकी अमिलो पदार्थले सुनलाई खियाउने संभावनालाई नकार्न । तर यो जान्दा जान्दै किन सुनको जलहरी राखियो ? आफ्नो नाम स्वर्ण अक्षरले लेखेर पशुपति मन्दीरमा राख्ने भोक तत्कालिन राजाहरु रणबहादुर शाह र महेन्द्र शाहमा जस्तै प्रधानमन्त्री ओलीमा जाग्नु भनेको मुलुकका लागि सोचनीय पक्ष हो ।
जंगबहादुर राणामा पनि नजागेको यो तीर्खा कम्युनिष्ट नेता ओलीमा जाग्यो । कम्युनिष्ट शासकहरु कस्ता सम्म हुँदा रहेछन् ? भन्ने उदाहरण दिँदा विश्वको पुुँजीवादी कित्ताले उत्तर कोरिया लगायत केही देशका शासकहरुको मात्रै नाम लिने गरेको थियो । अब नेपालका कम्यनिष्ट शासक ओलीको नाम पनि दर्ज हुने भएको छ ।
नेपालमा सुन पाइँदैन । अन्तर्राष्ट्रिय बजारबाट आयात गर्ने हो । अन्तर्राष्ट्रिय बजारबाट पनि नेपाली मुद्रा तिरेर ल्याउन पाइँदैन । बिदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्छ । नेपालमा बिदेशी मुद्रा आउने भनेको हाम्रा लाखौँ युवाहरुले खाडीको पचपन्न डिग्री सेल्सियस तातो बालुवामा पाइताला पोलेर, रगत पसिना बगाएर पठाएको रेमिट्यान्सबाट हो । यसरी आएको मुद्रामा समेत ¥याल काढ्ने ब्याक्तिलाई अझै पनि ‘केपीबा’ भनेर देवत्वकरण गर्न खोज्ने लैठतहरुको कमी हाम्रो मुलुकमा छैन । बास्तवमा यिनै लठैतहरुले हो देश विगारेको ।
यसरी आएको बिदेशी मुद्राको सुन किनेर भगवानलाई चढाउँदा र त्यहाँ पनि घोटाला गर्दा खाडीबाट बाकसमा सुतेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक जसो आउने युवाहरुको अनुहार ओलीले संझेनन् , किनकी उनले आँफूलाई देवता ठानिसकेका छन् । तर ‘नाङ्गा बादशाहलाई कस्तो राम्रो कपाडा लगाइबक्सेको’ भन्ने लठैतहरुकै कारण नयाँ पुस्ताले विकल्प खोज्न थालिसकेको कुरा यो १३ महिनाको अवधीमा भएका विभिन्न निर्वाचनले पुष्टि गरिसकेको छ । त्यसो त यो प्रकरण तर्फ युनेस्कोले पनि छानविन गर्छ होला नै । किनकी पुरातात्विक महत्व भएका र युनेस्कोको विश्वसम्पदा सूचिमा समावेश भइसकेका संरचनामा एउटा ईंटा फेर्न पर्दा समेत रंगदेखि आकार र सामग्री उस्तै देखियोस् भन्ने सजगता हुन्छ । पशुपतिनाथ त विश्वभरका हिन्दुको पवित्र सम्पदा पनि हो ।
प्रतिक्रिया