कहाँ खर्च हुन्छ काठमाडौं महानगरपालिकाको बजेट ?

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५५ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको १३औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याइएको छ भने । पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो । करिब नौ लाख जनसंख्या बसोबास गर्ने काठमाडौं महानगरका लागि वार्षिक २५ अर्ब रुपैयाँ भनेको निकै ठूलो हो ।

जनसंख्याका हिसाबले प्रतिव्यक्ति करिब २८ हजार रुपैयाँको हाराहारीमा हो । भूगोलका हिसाबले भन्ने हो भने प्रतिवर्ग किलोमिटर ५० करोड रुपैया“को हाराहारीमा हो । काठमाडौं महानगरपालिकाले खानेपानी हेर्नु पर्दैन । बिजुली हेर्नु पर्दैन । ६ मिटरभन्दा चौडाइका सडक हेर्नु पर्दैन । यी सबै संघीय सरकारले नै हेर्छ । त्यसैले सधँै प्रश्न उठ्ने गरेको छ, ‘कहाँ जाने गरेको छ काठमाडौं महानगरपालिकाको बजेट ?’ जनसंख्याका हिसाबले प्रतिव्यक्ति आठ हजार रुपैयाँ र भूगोलका हिसाबले प्रतिवर्गकिलोमिटर १ करोड ६० लाख रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत हुने पोखरा महानगरपालिका काठमाडौंको तुलनामा धेरै व्यवस्थित छ । पोखराको त उदाहरण मात्रै हो । काठमाडौंको तुलनामा धेरै पालिकाहरूले जनतालाई ठिकै सुविधा दिएका छन् ।

काठमाडौं महानगरपालिकाले विनियोजन गरेको १७ अर्ब रुपैयाँ पुँजिगत बजेट प्रदेश सरकारहरूको पुँजिगत बजेटभन्दा खासै धेरै कम छैन । उदाहरणका लागि सुदूरपश्चिम प्रदेशले १७ अर्ब २ करोड, कर्णाली प्रदेशको १९ अर्ब ९७ करोड र गण्डकी प्रदेशको २० अर्ब १९ करोड रुपैयाँ पूँजिगत बजेट छुट्याएका छन् । जम्मा ५० वर्ष किलोमिटर क्षेत्रफल ओगट्ने काठमाडौं महानगरपालिकाको विकास बजेट हजारौं वर्गकिलोमिटर क्षेत्रफलका गण्डकी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशको हाराहारीमा हुनु भनेको सामान्य कुरा होइन । त्यसमाथि पनि सांसद विकास कोष अन्तर्गत काठमाडौं महानगर पालिकामा जाने बजेट पनि तुलनात्मक रूपमा निकै ठूलो छ । तैपनि काठमाडौं महानगरपालिका जति अव्यवस्थित देशका कुनै पनि पालिका छैनन् होला ।

संघीय सरकारको राजधानी काठमाडौं महानगरपालिका भित्रै छ । देशका सबैभन्दा ठूला १० वटा अस्पतालको नाम सूची हेर्ने हो भने सात वटा काठमाडौं महानगरपालिका भित्रै छन् । मुलुकको एक मात्रै चालु हालतको अन्तर्राष्ट्रिय विमानस्थल पनि काठमाडौं महानगरपालिका भित्रै छ । देशका सबैभन्दा ठूला २० वटा सरकारी क्याम्पसको सूची हेर्ने हो भने १५ वटा काठमाडौं महानगरपालिका भित्रै छन् । देशका सबैभन्दा ठूला २० वटा उच्च माध्यमिक विद्यालयहरूको सूची हेर्ने हो भने पनि आधाभन्दा बढी काठमाडौं महानगरपालिका भित्रै छन् । तैपनि बसोबासका लागि जनताको पहिलो रोजाइ काठमाडौं महानगरपालिका पर्न छाडेको छ । जुन कुरा जनगणना २०७८ को तथ्यांकले पुष्टि गरिसकेको छ । जो काठमाडौंमा बसेका छन्, उनीहरू वाध्यताले बसेका हुन् । हजारौँ वर्ष अघिदेखि केन्द्रीय अर्थात संघीय सरकारले बनाइदिएका पूर्वाधारका कारण उनीहरू वाध्यताका साथ बसेका हुन् ।

१० वर्षको अवधिमा अन्य महानगरपालिका तथा उपमहानगरपालिकामा ३५ प्रतिशतसम्म जनसंख्या वृद्धि हुँदै गर्दा काठमाडौं महानगरपालिकाको जनसंख्या १३ प्रतिशत घटेको छ । देशभरको जनसंख्या अघिल्लो जनगणनाको तुलनामा १० प्रतिशत हाराहारीले बढ्दा काठमाडौं महानगरको जनसंख्या १३ प्रतिशत घट्नुको कारण खोज्न दिमाग खियाइरहनु पर्दैन । किनकी काडमाडौं महानगरपालिकाले अरू पालिकाको तुलनामा जनतासँग पाँच गुणा बढी कर लिन्छ, तर सेवा सुविधाको हिसाबले सबैभन्दा चुत्थो छ । बिकास निर्माणको कुरा गर्ने हो भने काठमाडौं महानगरपालिकाले अहिलेसम्म आफ्नो कार्यालय भवनसमेत बनाउन सकेको छैन । सहरका विभिन्न १७ वटा स्थानमा भाडाको घर लिएर भद्रगोल रूपमा काठमाडौं महानगरपालिका चलिरहेको छ । जनताको रोजाइ काठमाडौं महानगरपालिका नभएको थप कुरा पुष्टि गर्न टाढा जानु पर्दैन । बालाजुको वनस्थली चोकबाट १२ सय मिटर उत्तरतर्फ गए हुन्छ । सडकको पूर्वतर्फ काठमाडौं महानगर पलिका सरहदभित्र पर्ने जग्गा आनाको ३५ लाख रुपैयाँसम्ममा किनबेच हुने गरेको छ भने सडकको पश्चिमतर्फ नागार्जुन नगरपालिकाको सरहदभित्र पर्ने जग्गा आनाको ७० लाख रुपैयाँमा किनबेच हुने गरेको छ ।

प्रतिक्रिया