जिउँदा मेयर

धरान उपमहानगर पालिकाको मुख्य सहरी क्षेत्रमा केही वर्षदेखि खानेपानीको समस्या विकराल बन्दै गएको छ । यसपटकको खडेरीमा खानेपानी आपूर्तिका साविकका मुहानहरू सुकेका कारण जनजीवन झन् कष्टकर बनेपछि कोकाहको पानी नखसालेसम्म धरान आउँदिनँ भनेर मेयर साङ्पाङ यही जेठ २७ गते शनिबार फिल्डतिर हिँडेका थिए । ४० किलोमिटर टाढा रहेको कोकाह खोलाबाट पाँच इन्चको पाइपमा धरानमा पानी ल्याउनका लागि उनले गत फागुनको अन्तिम सातादेखि जनश्रमदान अभियान सुरु गरेका थिए । काम थालेको ९८औं दिनमा गत मंगलबार मध्यरातीदेखि कोकाहको पानी धरानमा झरेको छ । पानीसँगै धरान आइपुगेका मेयर साङपाङले खुसीका आँशु थाम्न सकेनन् । उक्त पानीले धरानको मुख्य सहरी क्षेत्रका ३० हजार जनसंख्यालाई राहत मिल्ने विश्वास गरिएको छ ।

झट्ट हेर्दा यत्तिको संवृद्ध सहरमा खानेपानीको आपूर्ति गर्नु सरकारको कर्तव्य नै हो, जनप्रतिनिधिको डिउटी हो । तर धरानको खानेपानी समस्याको कथा लामो छ । साथै यतिबेला जे जसरी धरानमा पानी खसालिएको छ, त्यो आफैँमा सदासदाका लागि स्मरण गर्न लायक, अति नै प्रेरणादायी छ । राजनीतिक गर्नेहरूका लागि धेरै ठूलो सन्देश दिएको छ । यही सन्देशका कारण हर्क साङपाङले जीवित मेयरका रूपमा धरानको मात्रै होइन नेपालकै इतिहासमा आफ्नो नाम लेखाएका छन् ।

दशकौं देखिको खानेपानी समस्या समाधान गर्ने एक सूत्रीय अभियान लिएर गत स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा मेयर पदमा उम्मेद्वार बनेका साङपाङले भारी मतका साथ चुनाव जितेका थिए । चुनाव जितेको भोलिपल्टैदेखि दायाँबायाँ नहेरी उनी खानेपानीको समस्या समाधानमा जुटे । बजेट कम थियो । तर उनको इमानदार प्रयासप्रति प्रभावित भएर देशविदेशमा बस्ने नेपालीहरूले चन्दा सहयोग गरे । चन्दाले मात्रै पुग्ने अवस्था थिएन । थोरै बजेटबाट धेरै काम सम्पन्न गर्नु थियो । मेयर साङपाङ आफैँ श्रमदानमा जुटे । उनको श्रमदान अभियानमा धरानका मात्रै होइन अन्य क्षेत्रका जनता पनि जुटे । दुई–तीन महिनाको प्रयासपछि धरान आसपासका ससाना मुहानबाट पानी आपूर्ति गरी गर्जो टारियो । तर हिउँद लागेसँगै स्थानीय मुहानहरूको पानी सुक्दै गयो । त्यसपछि स्थायी मुहानको खोजीमा प्राविधिकहरूको टोली लिएर जुटेका मेयर सम्पाङले ४० किलोमिटर टाढाको कोकाह खोला फेला पारे । यति लामो दुरीबाट पानी ल्याउनका लागि समय र बजेट पनि निकै ठूलो लाग्ने अवस्था थियो । तर साङपाङले श्रमदानको आह्वान गरे । करिब तीन हजार श्रमदाताहरू जुटे । ९८औँ दिनमै काम फत्तेह भयो ।

राजधानी काठमाडौंमा खानेपानीको आपूर्तिका लागि राज्यको ढुकुटीबाट करिव ३० अर्ब रुपैयाँ खर्च गरिएको २७ किलोमिटर टाढाको मेलम्ची खोलाबाट पानी ल्याउन काम सुरु भएको मितिले २२ वर्ष समय लाग्यो । तर धरानका मेयर साङपाङले राज्यको ढुकुटीबाट नगन्य रकम खर्च गरी ४० किलोमिटर टाढाको पानी काम थालेको ९८औँ दिनमा ल्याइदिए । सबैभन्दा ठूलो कुरा त वैशाख जेठको चर्को घाममा समेत तीन हजारभन्दा बढी श्रमदाताहरू नियमित काममा खटिए । धरान मात्रै होइन ७७ वटै जिल्लाका मान्छे खटिए । सायद यति ठूलो र लामो समयसम्मको श्रमदान अभियान नेपालमै पहिलो हुनुपर्छ । हुन त माओत्सेतुङले श्रम शिविर सञ्चालन गरेर चीनमा भौतिक विकासको पूर्वाधार तयार गरेको भाषण नेपालका कम्युनिस्टहरू हिजो आज पनि गर्ने गर्छन् । तर २०४८ देखि २०७४ सम्मका सबै निर्वाचनहरूमा कम्युनिस्टहरूले अविछिन्न चुनाव जितेको धरान दिनप्रतिदिन बन्जर बन्दै गयो । जनताले विकल्पका रूपमा स्वतन्त्र उम्मेद्वार साङपाङलाई छाने ।

साङपाङले सञ्चालन गरेको श्रम शिविर बिलकुलै स्वःस्फुर्त हो । यसमा जोरजबरस्तीको कुनै गुन्जायस नै थिएन । यदि कुनै पार्टीको मेयर भएको भए यसरी जनता श्रमदान अभियानमा जुट्ने संभावना पनि थिएन । किनकी त्यहाँ दलगत स्वार्थका खेलहरू हुन्थे । धराने मेयर साङपाङबाट अब देशले सिक्नु पर्ने पाठमध्येको एउटा हो, ‘स्थानीय तहको निर्वाचनमा निर्दलीय पद्धति उपयुक्त हुने रहेछ ।’ यसै पनि स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना संविधानले पनि गरेको छैन । बहुमत र अल्पमतको खेल हुने ठाउँ पनि राखिएको छैन । खाली चुनावमा मात्रै हो दलीय प्रतिस्पर्धा । तर त्यही दलीय प्रतिस्पर्धा विकास निर्माणका लागि घाँडो बनेको छ । त्यसैले स्थानीय तहको चुनावमा दलको टिकट तथा चुनाव चिन्हको अवधारणा यथाशीघ्र खारेज गर्नुपर्छ ।

प्रतिक्रिया