काठमाडौं महानगरपालिकाले यतिबेला चालेको एउटा कदमले राजधानी काठमाडौंको गोंगबु क्षेत्रका व्यापारी तथा व्यवसायी एवं घरधनीहरूलाई धेरै नै बढी खुसी तुल्याएको छ । महानगरपालिकाको त्यो कदम हो, ‘उपत्यकाबाट बाहिरिने र भित्रिने सार्वजनिक यातायातका साधनहरूले असार १ गतेदेखि लागू हुने गरी गोंगबुस्थित नयाँ बसपार्क मात्रै प्रयोग गर्नुपर्ने । यति मात्रै होइन उपत्यकाबाट बाहिरिने र भित्रिने सार्वजनिक यातायातका साधनहरूले गोंगबु बसपार्कबाहेक महानगर क्षेत्रभित्रका अरू ठाउँमा यात्रु चढाउने र ओराल्ने गरेमा सख्त कारबाही गरिने भएको छ । साथै टिकट बिक्री गर्ने काउन्टरहरू पनि गोंगबु बसपार्कबाहेक महानगरका अन्य कुनै पनि ठाउँमा राख्न नपाउने व्यवस्था गरिएको छ । महानगरपालिकाले १५ दिने म्याद दिएर असार १ गतेदेखि लागू हुने गरी यो निर्णय गरेको हो । हालसम्म गोंगबु बसपार्कका अलवा कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, बल्खु, सातदोबाटो लगायतका स्थानबाट पनि उपत्याका बाहिर जाने आउने सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा छन् । टिकट बिक्री काउन्टरहरू टोलटोलमा छन् । यी साधनहरूले महानगर क्षेत्रभित्र पनि साविकका बस स्टेसनहरूमा यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् । काठमाडौं महानगर पालिकाको यो निर्णयले गोंगबु क्षेत्रका ब्यापारी तथा व्यवसायी एवं घरधनीलाई निकै नै ठूलो फाइदा हुने निश्चित छ । त्यसबाहेक काठमाडौं उपत्यकामा सञ्चालित ट्याक्सीहरूलाई पनि ठूलो फाइदा हुने निश्चित छ ।
ट्राफिक समस्या समाधान गर्न तथा शान्ति सुरक्षा कायम गर्न सहज हुने नेपाल प्रहरीको सुझावअनुसार काठमाडौं महानगरपालिकाले चालेको यो कदम व्यावहारिक रूपमा कार्यान्वयन हुने संभावनाका विषयमा भने एक होइन अनेक प्रश्नहरू छन् । पहिलो कुरा त राजधानी काठमाडौं उपत्यकाबाट दैनिक ७५ हजार यात्रु बाहिरिने र भित्रिने गरेको नेपाल प्रहरीको तथ्यांक छ । उनीहरू अब ट्याक्सी चढेर गोंगबु बसपार्क जानुपर्नेछ । बसपार्कसम्म छाड्न जाने आफन्तहरूको समेत संख्या जोड्दा एक लाख नाघ्छ । एक लाख मान्छे गोंगबु बसपार्कभित्र अटाउँछन् कि अटाउँदैनन् ? केही दिनपछि नै थाहा भइहाल्छ ।
काठमाडौं उपत्यकाबाट ठूला साना गरी दैनिक पाँच हजार सार्वजनिक सवारी साधन भित्रिने र बाहिरिने गरेको तथ्यांक छ । यी मध्ये कति प्रतिशत सवारी साधन गोंगबु बसपार्कभित्र अटाउँलान ? भन्ने प्रश्नको उत्तर पनि अब केही दिनमै आउनेछ । गोंगबु बसपार्कभित्र टिकट बिक्री काउन्टरका लागि सहज रूपमा ठाउँ पुग्छ कि पुग्दैन ? दैनिक ७५ हजार मान्छे टिकट किन्न जाँदा बसपार्क भित्रको भिड कस्तो होला ? पाकेटमारी के कति बढ्ला ? सहरको छेउछाउबाट छुट्ने सवारी साधनहरू गोंगबु बसपार्कमा अनिवार्य पुग्नु पर्दा त्यहाँको ट्राफिक जाम के कस्तो बढ्ला ? भन्ने प्रश्नहरू पनि छन् । अझ पेचिलो प्रश्न हो, ‘पोखराबाट कलंकी आउने यात्रु, बर्दीबासबाट कोटेश्वर आउने यात्रु, हेटौंडाबाट बल्खु आउने यात्रुलाई गोंगबुमा पुगेर मात्रै ओर्लिन बाध्य पार्दा जनताको असन्तुष्टि के कति बढ्ला ?’ त्यसमा पनि यात्रुहरूका सामान हुन्छन् । दाल चामल पनि घरबाटै ल्याउने चलन छ ।
काठमाडौं महानगरपालिकाभित्र ट्राफिक जामको समस्या विकराल छ । तर महानगरपालिकाले अहिले चालेको यो कदमसँग ट्राफिक समस्या घटाउने सन्दर्भमा कुनै साइनो छैन, बरु बढाउँछ । उपत्यकामा ट्राफिक जामको मुख्य कारक भनेकै सरकारी सवारी साधन र स्कुलबसहरू हुन् । सार्वजनिक बिदाका दिन ट्राफिक जामको समस्या छैन । सरकारी सवारी साधन र स्कुल बसहरूको संख्या नघटाउँदासम्म समस्या समाधान हुन सक्दैन । कर्मचारीका निम्ति सरकारी सवारी साधन अनिवार्य आवश्यकता होइन । कटौती गरिदिए हुन्छ । यो कामको थालनी काठमाडौं महानगरपालिकाबाट सुरु भयो भने धेरै नै राम्रो सन्देश जान्छ । १० कक्षासम्म पढाइ हुने विद्यालयहरू टोलटोलमा छन् । १० मिनेट हिँड्दा पाँच वटा विद्यालय छिचोल्न सकिने अवस्था छ । स्कुल बस आवश्यक नै छैन ।
प्रतिक्रिया