लामो खडेरीका कारण गर्मी बढ्नेक्रम जारी छ । आइतबार नेपालको तराई क्षेत्रका विभिन्न ठाउ“को तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । स्थानीय जनताले थाहा पाएसम्म यति धेरै तापक्रम पहिलो हो । यसअघि लामो खडेरी पर्दा पनि यति तापक्रम मापन भएको थिएन । खडेरी र गर्मीका कारण मधेस प्रदेशको लालबकैया नदी स्याप्पै सुकेको छ । पानी बग्ने गरेको नदीको सतहमा कमिला हिँड्न थालेका छन् । तराई क्षेत्रका अधिकांश ठाउ“मा खानेपानीका इनार तथा चापाकलसमेत सुकेका छन् । पानीको राम्रो स्रोत भएको महोत्तरीको जलेश्वरमा समेत ट्यांकरद्वारा खानेपानीको आपूर्ति हुन थालेको छ । कृषिबालीको अवस्था त झन् डरलाग्दो छ । यो स्थिति अझै एक साता लम्बिने हो भने जनजीवन तवाह हुने निश्चितजस्तै छ । तर, सौभाग्यबस आइतबार रातीदेखि देशका अधिकांश स्थानमा वर्षा भएका कारण ठूलो राहत मिलेको छ । मौसम विज्ञानविभागले जेठ ३१ गते बुधबाररदेखि पूर्वी नेपालको झापाबाट मनसुन प्रवेश गर्ने जनाएको छ । पानी पर्नासाथ गर्मी तथा सुक्खाको समस्या हटेर जान्छ । यतिबेला त्यही पर्खाइमा बहुसंख्यक नेपालीहरू छन् । पानी परेका कारण यसपटकको संकट हट्यो भनेर ढुक्क हुने अवस्था छैन । जलवायु परिवर्तनले निम्त्याउने खतराको घण्टी बजिसकेको छ ।
अब पनि सचेत नहुने हो भने दुई वर्षअघि युरोपमा जे भएको थियो, त्यो अवस्था नेपालमा पनि हुन सक्छ । दुई वर्षअघि निकै लामो खडेरीका कारण युरोपमा नदीनालाहरू सुके, जंगली जनावरहरू पानी खान नपाएर मरे । लामो खडेरीपछि एक्कासि लगातार एक सातासम्म मुसलधारे वर्षा हु“दा बाढी र पहिरोले ठूलो क्षति पुर्यो । नेपालमा पनि त्यस्तै खतराको पूर्वसंकेत देखिएको त होइन ? भन्ने प्रश्न ज्यादै विचारणीय छ । चुरे क्षेत्रको दोहन रोकेर संरक्षणका लागि ठोस कदम चाल्न ढिलाइ भइसकेको छ । चुरेको जंगल संरक्षण गर्ने, चुरे क्षेत्रको गिटी तथा बालुवा उत्खनन् नगर्ने, चुरेको फेदी क्षेत्रमा जलाशय निर्माण गर्ने लक्ष्यका साथ राष्ट्रिय गौरवको आयोजना सुरु हुनु आफै“मा राम्रो कुरा हो । तर यो आयोजनाले गति लिन सकेको छैन । यो आयोजना सम्पन्न हुँदा नहुँदै तराई क्षेत्र मरुभुमीकरण भइसक्ने पो हो कि ? भन्ने खतरा बढेको छ । चुरे क्षेत्रको संरक्षणका लागि संघीय सरकारले मात्रै होइन प्रदेश तथा स्थानीय सरकारले पनि ध्यान दिनु जरुरी छ । तराईका स्थानीय सरकारहरूले चुरेको संरक्षणका लागि पनि निश्चित बजेट छुट्याउन थालिहाल्नुपर्छ ।
यो वर्षका लागि सुक्खा, खडेरी तथा गर्मीको समस्या करिब करिब समाप्त हुन लागेको छ । तर, अब तत्कालै बाढीपहिरोको अर्को समस्या सुरु हुँदै छ । हरेक वर्षको मनसुनी सिजनमा बाढीपहिरोका कारण निकै ठूलो धनजनको क्षति हुने गरेको छ । पछिल्ला दिनमा यो विपत्ति झनै बढ्न थालेको छ । भिराला पहाडहरू डोजरमार्फत खोतलेर सडक निर्माण गर्ने । खोला तथा नदीबाट गिटी तथा वालुवा उत्खनन् गर्ने, खोला तथा नदीका बहाव क्षेत्र मिचेर भौतिक संरचना निर्माण गर्ने लगायतका अत्यन्त अदूरदर्शी कदमका कारण बाढी तथा पहिरोको समस्या हरेक वर्ष वृद्धि भइरहेको छ । यस वर्षको मनसुनमा पनि बाढी तथा पहिरोका कारण करिब १३ लाख जनता प्रभावित हुने प्रक्षेपण विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको छ । बाढी तथा पहिरोको बढी जोखिम कुन कुन ठाउँमा छ ? भन्ने कुरा पनि विगतका अनुभवका आधारमा प्राधिकरणले निक्र्योल गरिसकेको छ । बाढी, पहिरो र भारी वर्षा मनसुनजन्य विपद् हुन् । तर मनुसनको अवधिमा झाडापखाला, हैजाजस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । त्यसैले विपद व्यवस्थापनका लागि सरकारले एकीकृत कार्यक्रम तय गर्नु जरुरी छ । तर यो समस्याको दीर्घकालीन समस्याका लागि भने विशेष कार्यक्रम ल्याउन ढिलाइ भइसकेको छ ।
प्रतिक्रिया