मछिन्द्रको सम्भावना कमजोर, रेलिगेसन टार्दै संकटा

‘ए’ डिभिजन लिग

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । आइतबार च्यासल रंगशालामा पुलिससँग २–१ ले स्तब्ध बनेपछि मछिन्द्र उपाधि दौडमा दुई खेल बाँकी रहँदा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडभन्दा पाँच अंकले पछि परेको हो ।


ओलावाले अफिजले पहिलो हाफमा गरेको गोलबाट अग्रता लिए पनि अन्तिम १५ मिनेट सम्हालिन नसक्दा मछिन्द्रले महत्वपूर्ण तीन अंक गुमायो । ७५औँ मिनेटमा मोसेस त्वुमले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । त्यसको ६ मिनेटपछि त्वुमले नै गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका थिए । यही गोल निर्णायक बन्दा पुलिस साविक विजेताबाट तीन अंक खोस्न सफल भयो ।


यस हारले शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंक पछि परेको मछिन्द्रले ३९ अंक जोडेको छ । शीर्ष स्थानको चर्चले २४ खेलबाट ४४ अंक बनाएको छ । यसै सिजन ‘ए डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइजले आगामी खेलमा जित निकाले अन्तिम खेल अगावै लिगको उपाधि जित्ने छ ।


जितसँगै चौथो स्थानमा रहेको पुलिसले २४ खेलबाट ३७ अंक जोडेको छ । तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबर रहे पनि पुलिस गोल आधारमा पछि छ । लिगमा आइतबारैै भएको अन्य दुई खेलमा संकटा क्लबले पुछारको फुटबल क्लब खुमलटारलाई ३–० ले पराजित गर्दै लिगमा हैसियत जोगाउने सम्भावनालाई बलियो बनाउदा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेल्दै अंक बाँडे ।


सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा संकटालाई जित दिलाउन निशान खड्का, आयुश घलान र चन्दन कुमार दासले समान एक गोल गरे । जितसँगै २४ खेलबाट ३० अंक जोडेको संकटा तालिकाको ११औँ स्थानमा उक्लिएको छ । जुन रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबको भन्दा चार अंक धेरै हो । संकटाभन्दा एक खेल कम खेलेको फ्रेन्ड्सको २५ अंक छ ।

प्रतिक्रिया