जनताको अपेक्षा : नयाँ पार्टी कि आर्थिक विकास ?

एनपी रिजाल

देशको आर्थिक विकास गर्ने खोज्ने, चुनावका दौरानका छोटो समयमा नै देशलाई विश्वका सम्पन्न देश बनाउने प्रतिवद्धता जाहेर गर्ने, नेपालको भूवनोट, जनताको सामाजिक–सांस्कृतिक संरचना लत्याउँदै विदेशी मोडेललाई प्रयोगमा ल्याउन खोजियो । काठमाडौंमा मेट्रो रेल, नेपालका नदीमा पानीजहाज सञ्चालन गर्नेजस्ता महत्वकांक्षी योजनाहरू चुनावका दौरानमा अगाडि सारिए तर वर्षौंदेखि खाल्डाखुल्डी परेको पक्की सडक मर्मत गर्न खोजिएन । नेपालको जनसंख्याको आकार, कुन पेसामा जनसंख्याको बढी हिस्सा सहभागी छ ? प्राकृतिक स्रोतमा जनताको पहुँच कस्तो छ ?

यही वैशाख ३० गते सम्पन्न स्थानीय निकाय (पालिका) का जनप्रतिनिधिको निर्वाचनमा देशको संघीय राजधानी काठमाडौंमा र्यापर तथा इन्जिनियर युवा बालेन्द्र साह र धरान उपमहानगरपालिकामा सामाजिक अभियन्ता हर्क साम्पाङजस्ता स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेपछि निकट भविष्यमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी हुन केही स्वतन्त्र व्यक्तिहरूले काठमाडौंको विभिन्न निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । त्यसैबीच ग्यालेक्सी फोर के टेलिभिजनमा आवद्ध पत्रकार रवि लामिछानेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

लामो समयसम्म टेलिभिजनमा पत्रकारिता गरेर आमदर्शकमाझ राम्रो छाप छोडेका रवि लामिछानेप्रति धेरै नेपालीको सकारात्मक झुकाव छ । टेलिभिजन कार्यक्रममा भुइँमान्छेले पाएका दुःखका मुद्दादेखि ठूला नेताका भष्ट्राचारका मुद्दासम्म उठाएका छन् । त्यही रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा देशलाई नयाँ राजनीतिक शक्तिको खाँचो छ र त्यसको लागि आफू केही गर्न सक्ने भन्दै नयाँ राजनीतिक पार्टी स्थापनासँगै खुल्ला राजनीतिक मैदानमा होमिएपछि देशमा एककिसिमको राजनीतिक तरंग छाएको छ । खासगरी गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति आमजनताको झुकाव सकारात्मक देखिएसँगै ठूला राजनीतिक दलका नेताहरू आफ्नो भोट बैंक सुरक्षित नहुने हो कि भन्दै चिन्ता गर्न थालेका छन् ।

स्वतन्त्र उम्मेदवारप्रति आमजनलहर बढेपछि उठेको एउटा महत्वपूर्ण प्रश्न हो नेपाली जनताले वर्तमान राजनीतिक पार्टीको विकल्प खोजेका हुन् त ? नयाँ राजनीतिक पार्टीले सत्तामा रहेका ठूला पार्टीका लागि कति चुनौती छ ? नेपालजस्तो सानो देशमा सयौँको संख्यामा राजनीतिक पार्टी स्थापना हुनु आधा दर्जनभन्दा बढी पार्टीले संसद्मा प्रतिनिधि पठाउन नसकिरहेको अवस्था छ भने युवा पुस्ताको अपेक्षा अनुरूपको आर्थिक विकासका कार्यक्रम आउन सकेन । इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबाट विश्वमा आउने नवीनतम परिवर्तन हेर्दै हुर्केका र अस्ट्रेलिया, जापानजस्ता सम्पन्न मुलुकमा अध्ययन गरिरहेका युवा पुस्ताको अपेक्षा अनुरूप सत्तामा पुगेका राजनीतिक दलले आर्थिक–सामाजिक रूपान्तरणका कार्यक्रम ल्याउन सकेनन् । देशमा राजनीतिक प्रणाली परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेका ठूला राजनीतिक दल खासगरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले र गणतन्त्र स्थापनाका लागि भूमिगत जनयुद्ध लडेको नेकपा माओवादी पार्टीहरूको बीचमा सत्ताको कुर्सी घुमेको छ । तर, गणतन्त्र स्थापना भएको डेढदशक पूरा भइसक्दा पनि आमजनताको अपेक्षा र चाहना अनुरूपको आर्थिक विकास हुन सकेन । उच्च शिक्षा अध्ययन गर्दै गरेको युवा नेपालभित्र आफ्नो भविष्य देख्न छोडेका छन् । ठूला राजनीतिक दलहरू आर्थिक विकासमा कहाँ चुके ?

ज्ञानको अभावमा गलत विज्ञको भर

सत्तामा पुग्न मरिहत्ते गर्ने धेरै नेताहरूमा उक्त पदमा बसेर आफूले देशका लागि गर्न सक्ने काममा लाग्ने लागत र लाभको अनुपात विश्लेषण गर्ने क्षमताको अभाव छ । कुन क्षेत्रबाट स्रोत जुटाउने, त्यसको परिचालन कसरी गर्ने ? विदेशी समकक्षीसँग कसरी आफ्नो लाभ हुने विषयमा बहस कसरी गर्ने ? जस्ता विषयको ज्ञानको अभाव छ । पार्टीलाई सहयोग गरेको भरमा मन्त्री बनेका नेताहरू विषयवस्तुको अल्पज्ञान भएका देखिएर र अर्काले परिचालन गरेको सल्लाहकारको भरमा चल्दा पनि अपेक्षा अनुरूपको काम हुन नसकेको हो । अवस्था कस्तोसम्म देखियो भने अंग्रेजी राम्रोसँग बोल्न जानेको भरमा विदेशी कूटनीतिज्ञसँग राष्ट्रिय हितको विषयका मुद्दामा बहस गर्न खोज्दा कतिपय विषयमा नेपालले आफ्नो पक्षमा पार्न सक्ने मुद्दाहरू गुमाएको छ । त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा आँच आएको छ । अर्कोतिर सत्तामा पुगेर पनि जनअपेक्षा अनुरूप काम गर्न नसक्ने नेताको विकल्पको खोजी हुनु स्वभाविक हो ।

नेपाली मोडेलको विकास भएन

देशको आर्थिक विकास गर्ने खोज्ने, चुनावका दौरानका छोटो समयमा नै देशलाई विश्वका सम्पन्न देश बनाउने प्रतिवद्धता जाहेर गर्ने, नेपालको भूवनोट, जनताको सामाजिक–सांस्कृतिक संरचना लत्याउँदै विदेशी मोडेललाई प्रयोगमा ल्याउन खोजियो । काठमाडौंमा मेट्रो रेल, नेपालका नदीमा पानीजहाज सञ्चालन गर्नेजस्ता महत्वकांक्षी योजनाहरू चुनावका दौरानमा अगाडि सारिए तर वर्षांैदेखि खाल्डाखुल्डी परेको पक्की सडक मर्मत गर्न खोजिएन । नेपालको जनसंख्याको आकार, कुन पेसामा जनसंख्याको बढी हिस्सा सहभागी छ ? प्राकृतिक स्रोतमा जनताको पहुँच कस्तो छ ? जस्ता विषयलाई आत्मसात गर्दै विकासका योजना निर्माण गर्नु आवश्यक छ । पूर्वपश्चिम द्रुत गतिको रेल निर्माण गर्नुभन्दा पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गलाई चार या पाँच लेनको बनाउन सके आर्थिक विकासमा ठूलो टेवा पुग्छ । भएको कला संस्कृतिलाई संरक्षण गरी पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । युवा पुस्ताको अपेक्षा सम्पन्न नेपाल हो । अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान सहितको विकास आमजनताको अपेक्षा हो ।

स्थिर राजनीतिक पार्टीको खोजी

नेपालमा औँलामा गन्न नसकिने राजनीतिक पार्टी छन् । एउटा सामान्य नागरिकले नेपाली एक दर्जनभन्दा बढी राजनीतिक दलको नाम कण्ठसँग बोल्न सक्दैन । ठूलै आर्थिक–सामाजिक रूपान्तरणको काम गर्न सक्छौँ भन्ने तामझामका साथ पछिल्लो समयमा स्थापना भएका राजनीतिक दलबीच पनि वैचारिक एकता देखिएन । यसको राम्रो उदाहरण विवेकशील साझा पार्टी हो । आमजनतामा विज्ञ व्यक्तित्वको रूपमा चिनिएका डा.बाबुराम भट्टराई र रविन्द्र मिश्र जस्ता नेताहरूले स्थिर रूपमा पार्टीको नेतृत्व गर्न असफल भएका छन् । सत्तामा बसेर देशको आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि नेतृत्वदायी भूमिका खेलेका प्रधानमन्त्रीहरू पार्टीभित्रको आन्तरिक कलहमा रुमलिए । सत्तामा पौँच नभएपछि पार्टी टुक्रिने गरेको छ । अर्कोतिर पार्टी फुट्ने अनि नयाँ राजनीतिक पार्टी निर्माण हुने र स्पष्ट आर्थिक–सामाजिक रूपान्तरणको सिद्धान्त नभएको कारण आमजनतामा त्यस्ता नेताप्रतिको विश्वास गुम्दै गएको छ । दिगो आर्थिक विकासका लागि दर्विलो आधार भएको राम्रो नेतृत्व भएको राजनीतिक पार्टीको आवश्यक छ । त्यस्तो पार्टी सत्तामा पुगे स्थिर रूपमा काम गर्न सक्छ । त्यस्तो राजनीतिक दलको अपेक्षा गरिरहेका जनताका लागि रवि लामिछानेजस्ता सेलिब्रेटी पत्रकार राजनीतिक दल लिएर आउँदा समर्थन गर्न सक्छन् । त्यसको धक्का थोरबहुत ठूला राजनीतिक पार्टीलाई पर्न सक्छ ।

राजनीतिक पार्टी जुनसुकै होस् । सत्तामा नेपाली कांग्रेस, नेकपा एमाले वा नेकपा माओवादी, राप्रपा वा अन्य कुनै दल पुगोस् तर देशको आर्थिक र सामाजिक रूपान्तरणलाई पहिलो प्रथमिकतामा राख्न सक्नुपर्छ । विकासको प्रक्रिया चलिहरने भएको कारण पाँच या १० वर्षमा समृद्ध नेपाल बन्न सक्दैन । तर, पाँच या १० वर्ष सत्तामा पुगेर पनि कुनै राजनीतिक पार्टीले आर्थिक विकास–सामाजिक रूपान्तरणको पक्षमा काम गर्न सकेन भने ती राजनीतिक पार्टीको विकल्पमा विपक्षी सत्तामा आउँछन् कि त नयाँ राजनीतिक पार्टीको उदय हुने बाटो खुल्छ ।

बहुदलीय व्यवस्थामा स्वतन्त्र व्यक्तिले शासन सत्ता सञ्चालनको विकल्प दिन सक्ने गुञ्जायस रहँदैन । दलहरूलाई खबरदारी गर्नेबाहेक स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुको खासै अर्थ रहन्न । स्थानीय निर्वाचनको पाटो एउटा हो, तर संसदीय निर्वाचनका सन्दर्भमा हाम्रो संविधानले स्वतन्त्र उम्मेदवारलाई चिन्दैनभन्दा पनि खासै फरक पर्दैन । निर्वाचन प्रणाली नै ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक छ । स्वतन्त्र व्यक्ति उम्मेदवार हुन पाउने भनेको प्रत्यक्षमा मात्रै हो । समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवार बन्ने भनेका दलहरू हुन्, व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् । त्यसैले स्वतन्त्र उम्मेदवार बन्नेहरूले खबरदारी त गर्न सक्लान् तर विकल्प दिनसक्ने कुनै गुन्जायस नै रहन्न । विकल्प दिनसक्ने भनेको दलले नै हो ।

स्थानीय निर्वाचनमा स्वतन्त्रले चुनाव जितेर केही काम पनि गर्न सक्छन् । तर, प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्रहरूको हैसियत के हुन्छ ? भन्ने जानकारी सामाजिक संजाल तताउने पुस्तामा देखिँदैन । स्थानीय तहको निर्वाचन जित्नेहरू सिधै स्थानीय सरकारमा पुग्छन् । स्थानीय सरकारको चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुन्छ । तर, प्रदेश सरकार र संघीय सरकारको निर्माण प्रत्यक्ष हुँदैन । जनताले पहिलो संसद छान्छन्, त्यसपछि मात्रै संसद्ले सरकार छान्छ । स्वतन्त्र रूपमा सांसद् जित्नेहरूले सरकार छान्ने भूमिकासमेत पाउँदैनन् । यसैगरी संसद्को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको गुन्जायस नरहने अर्को पाटो पनि छ, त्यो पाटो हो निर्वाचन प्रणाली । प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत प्रतिनिधित्व समानुपातिक निर्वाचन प्रणालीबाट हुन्छ । तर, समानुपातिक निर्वाचन प्रणालीमा व्यक्ति चुनाव लड्न पाउँदैन । दलहरू मात्रै चुनाव लड्ने हुन् ।

जसलाई मुलुकको शासन व्यवस्थाको चरित्र नै थाहा छैन, जो निर्वाचन प्रणालीबारे नै बेखबर छ, त्यस्ता व्यक्तिहरूले चुनाव जिते भने मुलुकको हालत के होला ? यो मामिलामा पूर्वसञ्चारकर्मी लामिछानेको प्रयासलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, प्रयासले मात्रै पुग्दैन । यसअघि पनि यस्ता प्रयास धेरै भएका थिए ।
[email protected]

प्रतिक्रिया