“आन्दोलन वार्म–अप मात्र”

काठमाडौं, ९ मंसिर । विपक्षी दलका शीर्ष नेताहरूले सरकारविरुद्धको अहिलेको आन्दोलन ‘वार्म–अप’ मात्र भएको बताएका छन् ।
विपक्षी १५ दलले शुक्रबार भृकुटीमण्डपमा गरेको उपत्यकास्तरीय ‘सर्वदलीय’ कार्यकर्ता भेलामा कांग्रेस, एमालेलगायत दलका नेताहरूले सर्वसत्तावादविरुद्धको आन्दोलन ‘वार्म–अप’ मात्र भएको बताएका हुन् । एमाओवादीको सत्तालिप्साकै कारण देशमा राजनीतिक गतिरोध बढेको आरोप लगाउँदै उनीहरूले आन्दोलनलाई कमजोर नआँक्न चुनौती दिए । उनीहरूले सरकारविरुद्ध राष्ट्रव्यापी मोर्चाबन्दीमा उत्रन पनि कार्यकर्तालाई आह्वान गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले १४ जेठमा एकलौटी चुनाव घोषणा गरेर एमाओवादीले देशलाई सर्वसत्तावादतर्फ धकेलेको आरोप लगाए । एकातिर राजीनामा पनि दिन्छु भन्ने अर्कोतिर चुनाव पनि आफैँ गराउँछु भन्ने धोकेवाज शैली अब नसहने सभापति कोइरालाको भनाइ थियो । ‘सर्वसत्तावाद लाद्न खोजेको हो भने त्यो दिवास्वप्न हो,’ कोइरालाले चेतावनी दिए, ‘अहिलेको आन्दोलन ‘वार्म–अप’ मात्र हो । हलका रूपमा नलिनुस् ।’
०६२/६३ मा तत्कालीन राजा आºनै ढिपीले समाप्त भएको उल्लेख गर्दै उनले एमाओवादीको पनि सत्ता छाडी सहमतिमा नआए राजाकै जस्तो अवस्था हुने दोहोर्‍याए । ‘शासकहरूको सोच यस्तै सर्वसत्तावादी हुन्छ,’ उनले भने, ‘राजा यस्तै भन्थे, आखिर परिणाम के भयो ? तपाईंहरू (एमाओवादी) पनि यस्तै हुने बाटोमा हुनुहुन्छ जिम्मेवार बन्नुस् ।’
एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीको सत्तालिप्साले देश संकटमा फसेको आरोप लगाउँदै अहिलेको आन्दोलनलाई कमजोरीका रूपमा नबुझ्न चेतावनी दिए । एमाओवादीकै सत्तालिप्साले आन्दोलनमा उत्रनुपरेको स्पष्ट पार्दै अध्यक्ष खनालले आन्दोलन उठानकै क्रममा रहेको बताए ।
‘आन्दोलन उठानकै क्रममा छ । ठूला भेला, नारा–जुलुस हुनै बाँकी छ,’ खनालले भने, ‘आन्दोलनको शृंखला लामो समयसम्म पनि जान सक्छ । त्यसैले स्यालको सिकार गर्न जाँदा बाघको हतियार लिएर हिँड्नुपर्छ ।’ उनले लोकतन्त्रविरोधी एमाओवादी नै संविधानसभामा ठूलो दल भएकाले संविधान नबनी संविधासभा विघटन भएको आरोप पनि लगाए ।
उनले संवैधानिक, राजनीतिक र नैतिक आधारमा औचित्य गुमाइसकेको सरकारले कुनै पनि हालतमा चुनाव गराउन नसक्ने दाबी गरे । संसद्को मात्रै चुनाव भए संसद् विघटन गराउने सरकारले नै गर्न सक्ने उल्लेख गर्दै उनले संविधानसभा चुनावका लागि सहमतिको सरकार आवश्यक पर्ने बताए । कामचलाउ सरकारले घोषणा गरेको चुनाव अलपत्र पारेकाले पुन: यही सरकारले चुनाव गराउन नसक्ने दाबीका साथ उनले तत्काल राष्ट्रपतिले चुनावी सरकारको आह्वान गर्न ढिला भइसकेको बताएका थिए ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आफूहरूको आन्दोलन महान् र पवित्र भएको तर्क गर्दै आउँदो चुनावबाट प्रजातन्त्र स्थापित नगरेसम्म आन्दोलन नरोकिने उल्लेख गरे । चुनावसम्म आन्दोलनलाई चलाखीसाथ नलाने हो भने प्रजातन्त्र बचाउन गाह्रो हुने अध्यक्ष थापाले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले एमाओवादीले सहमति–सहमति भनेर धोका दिइरहेको आरोप लगाए । एमाओवादी सर्वसत्तावादतर्फ उन्मुख भएकाले आन्दोलनबाट परास्त गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।
एमाले महासचिव ईश्वर पोखरेलले सत्ता परिवर्तन मात्र आफूहरूको माग नरहेको स्पष्ट पार्दै राष्ट्रियता, लोकतन्त्रको पक्षमा र सर्वसत्तावादविरुद्धको पनि मुद्दा भएको बताए ।
विपक्षीले आन्दोलनअन्तर्गत शुक्रबार उपत्यकास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेका थिए । यसअघि नागरिक समाजका प्रतिनिधिसँग र अर्थविद्सँग आन्दोलनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया