पिता बने मेसी

बार्सिलोना : स्टार फुटबलर लिओनेल मेसी छोराका बाबु बनेका छन् । बार्सिलोना क्लबका यी २५ वर्षीय अर्जेन्टिनाकी प्रेमिका एन्टोनेला रोक्कुजोले शुक्रबार राति छोरा जन्माएकी हुन् । दुइ वर्षअघि इन्गेजमेन्ट गरेर प्रेमजीवन सार्वजनिक गरेका मेसीले रोक्कुजोसँग विवाह भने गरिसकेका छैनन् ।
रोक्कुजो शुक्रबार अस्पताल भर्ना भएकी थिइन् । प्रेमिका बिरामी भएको जानकारी पाएपछि प्रशिक्षणबाट बिदा लिएर अस्पताल गएका मेसी केही घन्टाको पर्खाइपछि औपचारिक रूपमा बाबु बनेका थिए । रोक्कुजो बार्सिलोनामा मेसीसँगै बस्दै आएकी छन् । बच्चा जन्मिएलगत्तै मेसी दम्पतीलाई बधाई तथा शुभकामना दिन मेसीका अभिभावक जर्ज र सेलियासहित केही शुभचिन्तक अस्पताल पुगेका थिए ।
विगत केही वर्षयतादेखि प्रेममा रहे पनि मेसी र रोक्कुजोले आफ्नो रोमान्स जीवनलाई निकै गोप्य राख्न प्रयास गरे र धेरै हदसम्म यो सफल पनि भयो । सन् २०१० को विश्वकपमा अर्जेन्टिना क्वार्टरफाइनलबाट बाहिरिएलगत्तै मेसी रोक्कुजोलाई लिएर बिदा मनाउन ब्राजिलको रियो द जेनेरियोमा पुगेका थिए जहाँ पापाराजीहरू मेसी र रोक्कुजो नजिकै सुतेर बीच–सनबाथ गरिरहेको फोटो खिच्न सफल भएका थिए ।
केही महिनाअघि अर्जेन्टिनाले खेलेको एक अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि मेसीले बल टिसर्टभित्र घुसारेर गर्भवतीजस्तो बनेका थिए । यसले उनी बाबु बन्न गइरहेको धेरैलाई अडकल काट्न मद्दत पुगेको थियो । समाचारहरूमा जनाइए अनुसार मेसीका छोराको नाम ‘थिआगो’ हुनेछ । (एजेन्सी)

प्रतिक्रिया