नेपालको लगातार हारले एक खेल अगावै वेस्टइण्डिजको पोल्टामा उपाधि

काठमाडौं । नेपालको लगातार हारले पाँच खेलको टी–२० सिरिजको उपाधि एक खेल अगावै वेस्टइण्डिज ‘ए’ले आफ्नो पोल्टामा पारेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको चौथो खेलमा वेस्टइण्डिजले एक खेल अगावै सिरिज ३–१ ले कब्जा गरेको हो ।

पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्टइण्डिजले जितेको हो । दोस्रो खेलमा १० रनले विजयी भएको वेस्टइण्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो ।

बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले हारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइण्डिजले ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २०९ रन बनाएको थियो ।

वेस्टइण्डिजका लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाए । यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

चौथो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । उनले यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । शनिबार भएको पहिलो खेलमा उनले शतकीय इनिङ खेलेका थिए ।

उनले ५४ बल खेल्दै ११२ रन बनाएका थिए । आइतबार भएको दोस्रो खेलमा नटआउट ७१ रन बनाएका पौडेललाई तेस्रो खेलमा भने आराम दिइएको थियो । वेस्टइण्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपालले कप्तान राेहित बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर आशिफ शेख दुई बलको सामना गर्दै शून्यमा आउट हुँदा कुशल भुर्तेलले पाँच बलमा १ रन जोडेका थिए । कुशल मल्ल चार बलमा ४ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९–१९ रन जोडे । अविनाश बोहोरा १७ र सोमपाल कामीले १० रन जोडे ।

पूरै २० ओभर खेल्दै नेपाल सबै विकेट गुमाएर १८१ रनमा समेटिएको हो । नेपाललाई सस्तैमा समेट्न म्याथ्यू फोर्ड र हेडेन वाल्शले समान तीन–तीन विकेट लिए भने गुडाकेश मोती र फेबियन एलेनले समान दुई–दुई विकेट हात पारे । जारी यस सिरिजको अन्तिम खेल आगामी शनिबार हुनेछ ।

प्रतिक्रिया