‘घरज्वाइँ’ को टिजर सार्वजनिक

काठमाडौँ । २८ असारमा रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ । मगर समुदाय भित्रको कथामा आधारित यस चलचित्रमा आफूले मन पराएकी युवतीलाई विवाह गर्न घरज्वाइँ बस्नुपर्ने बाध्यात्मक परिस्थिति देखाउन खोजिएको छ ।
यस चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई र मिरुना मगर रहेका छन् ।

टिजरअनुसार यसमा दयाहाङ शिक्षकको भूमिकामा रहेका छन् । उनी लाहुरे हुन पनि नसक्ने र शिक्षकको जागिरले श्रीमती पाल्न नसक्ने भन्दै मिरुनाका पिताले छोरीसँग विवाह गराउन मानेका छैनन् । यदि विवाह गर्ने हो भने घरज्वाइँ नै बस्नुपर्ने सर्त उनको छ । तर, दयाहाङले आफ्नो प्रतिष्ठाको कारण घरज्वाइँको सर्त मान्न तयार छैनन् । घरबाट भने घरज्वाइँ बस्न आँट्नुपर्ने सुझाव दिन्छन् ।

टिजरबाट मन परेकी युवतीसँग विवाह गर्नका लागि युवकलाई आइपरेको परिस्थिति चलचित्रमा रहेको बुझ्न सकिन्छ । टिजरभर निष्कपट देखिने मिरुना र प्रतिष्ठाको मिचाइमा रहेका दयाहाङको यो कथा रोचक हुने देखिन्छ ।

पूर्वी रुकुमको तकसेरास्थित मगर गाउँमा छायांकन भएको सो चलचित्रमा मगर संस्कृतिलाई देखाइनेछ । चलचित्रलाई अनिल बुढाले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले लगायतको अभिनय पनि रहेको छ ।

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जनक घर्ती मगर हुन् । यसका छायाकार सुसन प्रजापति हुन् भने सम्पादक कृष्ण भण्डारी हुन् । पटकथा तथा संवाद लेखन निर्देशक बुढासहित विनोद खतिवडा र सुभाष कोइरालाले गरेका छन् । यसको नेपाल वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ (आरआर फिल्म्स) हुन भने अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेनमेन्ट हो ।

प्रतिक्रिया