रोहितको कप्तानीमा टी– २० विश्वकप खेल्ने नेपाली टोली घोषणा, काे–काे परे खेलाडी ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइण्डिजमा सुरु हुने आइसीसी टी– २० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

क्यानले बुधबार नेपाली टोली घोषणा गरेको हो । क्यानले घरेलु मैदानमा जारी वेस्टइण्डिज ‘ए’ विरुद्धको खेलमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनाेट गरेको छ । विश्वकपमा नेपाल नेदरल्याण्डस्, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेको समूह ‘डी’ मा छ ।

विश्वकपका सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान पक्का गर्नेछन् । सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल जुन २९ मा हुनेछ । आफ्नो पहिलो खेलमा नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ । जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ । नेपाल रहेको समुहका पाँच टोलीमध्य अहिलेसम्म दक्षिण अफ्रिकाले मात्र टोली घोषणा गरेको छ ।

हाल विश्वकप खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन् ।

नेपालका ब्याटिङ प्रशिक्षकमा मोन्टी देशाई छन् भने बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक रहेका छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया