सौर्य ऊर्जा केन्द्रीय प्रसारण लाइनमा

काठमाडौं, १२ असोज । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग सौर्य ऊर्जा प्रणाली जोडिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थान बोर्डले सुन्दरीघाट क्षेत्रमा निर्माण गरेको सौर्य ऊर्जा प्रणाली आयोजना केन्द्रीय प्रसारण लाइनसँग जोडिएको हो । जापान सरकारको सहयोगमा बोर्डले निर्माण गरेको सौर्य प्रणाली केन्द्रीय प्रसारण लाइनमा जोडिएको पहिलोपटक हो ।
‘सौर्य ऊर्जा प्रणाली पहिलोपटक केन्द्रीय प्रसारण लाइनसँग जोडियो,’ प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभागका निर्देशक शेरसिंह भाटले भने, ‘परीक्षण उत्पादन सफलपछि जोडिएको हो ।’ ६८०.४ किलोवाटको उक्त सौर्य प्रणाली करिब ४८ करोडको लागतमा बनेको हो । उक्त सौर्य प्रणाली सुन्दरीघाट क्षेत्रको ११ केभी लाइनमा जोडिएको छ । अब प्राधिकरणले सौर्य ऊर्जामार्फत प्रतिवर्ष करिब ६ लाख युनिट अर्थात् ३० लाख ६० हजार रुपियाँ बराबरको किन्नेछ ।
प्राधिकरणको बिहीबार बसेको बैठकले सौर्य ऊर्जाको विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने निर्णय गरेको थियो । प्राधिकरणको निर्णयपछि अब छिट्टै पिपिए सम्झौतासमेत गर्न लागिएको छ । प्राधिकरण कार्यकारी सचिवालयका निर्देशक अष्टरत्न शाक्यका अनुसार, प्रतियुनिट ५.१० पैसामा पिपिए गर्ने निर्णय गरिएको छ । विद्युत् महशुल निर्धारण आयोगले खानेपानी समूहले तिर्नुपर्ने प्रतियुनिट रुपियाँको आधारमा पिपिएको दर तयार गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सौर्य प्रणालीको विद्युत् नलिएमा वा उक्त आयोजनाले प्राधिकरणलाई नदिएमा एक अर्कालाई जरीबाना तिर्नु नपर्नेसमेत प्राधिकरणले जनाएको छ । अन्य जलविद्युत् आयोजनामा भने नलिएमा वा नदिएमा दुवैमा एक–अर्कालाई जरीबाना तिर्नुपर्ने पिपिएमै उल्लेख हुने गरेको छ ।
लोडसेडिङ चरम समस्या भोगिरहेकाबेला काठमाडांै उपत्यकाका घरघरमा सौर्य (सोलार) जडान गरेमा र त्यसलाई प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडेमा अहिलेको ऊर्जा संकट न्यूनीकरण गर्न सहयोग पुग्ने बताइए पनि यसतर्फ भने पहल भएको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाडांैमा हरेक घरमा सोलार राखेर त्यसमार्फत उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिने बताउँदै आएको छ तर यसबारे सरकारी निकायबाट पहल भएको छैन । काठमाडौंका अधिकांश घरमा सोलार राखेमा २० मेगावाटभन्दा बढी विद्युत् केन्द्रीय प्रसारण लाइनसँग जोड्न सकिने केन्द्रका एक अधिकारीले बताए । ‘काठमाडौंबासीलाई घरघरमा ठूला क्षमताका सोलार बनाउन लगाएर त्यो प्राधिकरणले किनिदिने भए सबै सोलार बनाउन तयार छन्,’ ती अधिकारीले थपे, ‘सोलारबाट प्राधिकरणलाई बेचेको पैसाले उनीहरूको आफूले भोगचलन गर्ने विद्युत्को महशुल तिर्न मात्र पुग्दैन, उल्टो आम्दानी पनि हुन्छ तर विदेशबाट मल्टिफ्युल, डिजेल ल्याउन पाए कमिसन पाइने सरकारी निकायका कर्मचारीको प्रवृत्ति बाधक छ ।’

ट्रान्सफर्मर बशप्रकरणका कर्मचारीसँग स्पष्टीकरण

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा मुछिएका कर्मचारीसँग बिहीबार स्पष्टीकरण सोधिएको छ ।
०६४ सालयता खरिद गरिएका ट्रान्सफर्मर निरीक्षणका लागि गएका तथा जिन्सी शाखामा कार्यरत कर्मचारीसँग प्राधिकरणले स्पष्टीकरण सोधेको हो । अहिले कार्यरत विभागका सम्बन्धित महाप्रबन्धकमार्फत उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । ‘गुणस्तरहीन ट्रान्सफर्मरमा मुछिएका कर्मचारीलाई स्पष्टीकरणपत्र काटिएको छ,’ प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले थपे, ‘निर्दोष कोही पनि ट्रान्सफर्मर प्रकरणमा पर्दैनन्, दोषीलाई कारबाही हुन्छ, स्पष्टीकरण नहेरीकन को दोषी र को निर्दोष भन्न सकिन्न ।’
ट्रान्सफर्मर गुणस्तरहीन प्रकरणमा मुछिएबारे छानबिन गर्न सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनअनुसार जिन्सी तथा भुक्तानी शाखाका ६ र निरीक्षणमा गएका १७ जनासँग स्पष्टीकरण अगाडि बढाइएको हो । प्रतिवेदनअनुसार  तत्कालीन अवस्थामा जिन्सी तथा भुक्तानी शाखाका कार्यरत पुष्पराज खड्का, विजयकुमार चौधरी, हरिबहादुर गोसी, सुरेन्द्रप्रसाद पनेरू, कैलाशकुमार अटल र नवराज ओझा संलग्न रहेको देखाइएको छ ।
त्यसैगरी ट्रान्सफर्मर निरीक्षणका लागि सतीशकुमार कर्ण, मनोज बराल, विकासबहादुर रघुवंशी, राधेश्याम महतो, नवीनकुमार लाभ, विद्युत् पौडेल, सुरजप्रसाद शाह, निमेष पोखरेल, विनोदकुमार स्वर्णकार, रामबिजुल मण्डल, सिन्धु यादव, शेखरकुमार दत्त, सुरेन्द्रराज जोशी, अभिषेक अधिकारी, मदन चापागार्इं, प्रज्वल पाण्डे र बोधबार ढकालको नाम प्रतिवेदनमा उल्लेख छ । उनीहरू सबैलाई स्पष्टीकरणपत्र प्राधिकरणले काटेको छ । उनीहरूले पत्र बुझेको १५ दिनभित्र स्पष्टीकरण बुझाउनुपर्छ । यसअघि प्राधिकरण तीन महाप्रबन्धक चिरञ्जीवी पौडेल, उपेन्द्रदेव भट्ट र गणेशप्रसाद राजसँग स्पष्टीकरण मागिसकेको छ ।
गत २५ चैतमा प्राधिकरण सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा ट्रान्सफर्मरबारे छानबिन बनेको समितिले ०६४ साल पछिल्याइएका ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । यसअघि ०६६ सालमा पूर्वसञ्चालक मुकेश काफ्लेको संयोजकत्वमा रहेको समितिले समेत ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो तर त्यो प्रतिवेदन कार्यान्वयन भएन । चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनीमार्फत  आयात गरिएका ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम भेटाएपछि त्यसबारे गत भदौ १५ गते सौर्य दैनिकले फोटोसहित समाचार छापेको थियो । त्यसपछि निरन्तर समाचार सम्प्रेषण गरेपछि प्राधिकरणमाथि गुणस्तरहीन ट्रान्सफर्मर छानबिनबारे अघि बढाउन चर्को दबाब परेको थियो ।
कारबाही नगरे आन्दोलन
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले ट्रान्सफर्मर प्रकरणमा दोषी देखिएका व्यक्ति र संस्थालाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
बिहीबार संघका अध्यक्ष जनार्दन भट्टराईले जारी गरेको विज्ञप्तिमा गुणस्तरहीन ट्रान्सफर्मरका कारणले प्राधिकरणले करोडौँ घाटा बेहोरेको, चुहावट बढेको तथा भविष्यमा समेत नोक्सानी हुने भएकाले दोषीमाथि कारबाहीको माग गरिएको छ । ‘ट्रान्सफर्मर खरिदबारे अविलम्ब छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा संघ प्राधिकरणको सदाचार, सुशासन र आर्थिक अनुशासन कायम गर्नका लागि कडाभन्दा कडा कदम चाल्न बाध्य हुनेछ ।’ विज्ञप्तिमा ०६४ पछि कतिपय कम्पनीबाट खरिद गरिएका ट्रान्सफर्मर छानबिनमा नपरेको भन्दै त्यसको पनि छानबिन गर्न माग गरिएको छ ।

प्रतिक्रिया