ठूला जलविद्युत् आयोजना अगाडि बढाउँदै छौँ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताएका छन् । लगानी सम्मेलनको दोस्रो दिन ऊर्जा क्षेत्रका सम्बन्धमा आयोजित छलफलमा उनले १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी, ६३५ मेगावाट क्षमताको दूधकोसी निर्माणमा जाने अन्तिम तयारीमा रहेको बताए । उनले ४१७ मेगावाट क्षमताको नलसिंह गाड, १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माणमा जाने अन्तिम तयारीमा रहेको जानकारी दिए । मन्त्री बस्नेतले ती आयोजना आन्तरिक रूपमा बिजुलीको सहज आपूर्तिका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै निर्यातका लागिसमेत योग्य रहेको बताए ।

दर्जनाँै जलविद्युत् आयोजना, सौर्य परियोजना पाइपलाइनमा रहेको जानकारी दिँदै मन्त्री बस्नेतले ती आयोजना सम्पन्न भएपछि नेपालको नवीकरणीय ऊर्जा क्षेत्रले नयाँ फड्को मार्ने र दिगो भविष्यका लागिसमेत योग्य रहने स्पष्ट पारे । ऊर्जा क्षेत्रमा लगानी भित्र्याउनका लागि सरकारले ग्रिन बन्डको अवधारणामा काम गरिरहेको र त्यसमार्फत यस क्षेत्रमा थप लगानी विस्तार गर्ने बताए । सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यसहित ऊर्जा मार्गचित्र तयार पारेको जानकारी दिँदै त्यसका लागि ४६ खर्ब बराबरको लगानी जरुरी रहेको स्पष्ट पारे । सरकारले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली, ९०० मेगावाट क्षमताको अरुण तेस्रो, ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको एसआर–६ परियोजनालाई प्रक्रियामा अगाडि बढाएको जानकारी दिए ।

सरकारले सन् २०४५ सम्म शून्य कार्बनको नीति अख्तियार गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धताअनुसार नै काम गर्ने विश्वास दिलाए । विश्व जलवायु कोष र ग्रिन फन्डमार्फत जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउन सकिने उनको भनाइ । विद्युत् व्यापारका लागि भारततर्फ विभिन्न ५ वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको र सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । मन्त्री बस्नेतले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा रहेको, बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा अगाडि बढेको उल्लेख गर्दैै मन्त्री बस्नेतले दुहबी–पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माणलाई प्रक्रियामा लैजान लागिएको बताए ।

प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर : कार्की

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताए । उनले निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशीय प्रसारणलाइन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि बताए । उनले निजी क्षेत्रले प्रसारणलाइन निर्माण र सञ्चालनको अवसर पाए विद्युत्को विश्वसनीयता बढाउँदै चुहावट घटाउन पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे ।

अध्यक्ष कार्कीले आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारमा पनि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । त्यसका लागि निजी क्षेत्रले पूर्वाधार निर्माण गरेर, बजार अध्ययन, जोखिम अध्ययन, सहलगानी खोजी र पोलिसी लबिइङ लगायतका काम गरिरहेको उनले जानकारी गराए । निजी क्षेत्रले विद्युत् व्यापारका लागि इक्विटी, ऋण, प्रविधि, सञ्चालन लगायतका पार्टनरसिप मोडलमा काम गरिरहेको पनि कार्कीले बताए ।

स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्नका लागि सरकारले केही कुरामा ध्यान दिनुपर्ने भन्दै कार्कीले हाम्रो नीतिमा स्थायित्व र स्पष्टता हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानीको सुरक्षा गर्नुपर्ने बताए । यस्तै, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्यूनीकरणका संयन्त्र, सहज स्वदेश फिर्तीको व्यवस्थालगायतका कुरामा ध्यान दिनुपर्ने पनि अध्यक्ष कार्कीको भनाइ छ । कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयका सहसचिव सागरराज गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया