हिट जित्दै एलेक्सले राखे राष्ट्रिय कीर्तिमान

टोकियो । ओलम्पिक २०२० अन्तर्गत पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । हिट चरणबाट कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८–८ खेलाडी रहेका छन् ।

एलेक्सको अर्को चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । अन्य हिटमा प्रतिस्पर्धा गर्ने खेलाडीले एलेक्सभन्दा राम्रो समय निकालेका छन् । एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारे । १३ औं दक्षिण एसियाली खेलकुदमा यसै विधामा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाए ।

पौडीमै गौरिका सिंहले भोली प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । यसमा राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा रहेको छ । उनले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा ५९.६० सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी थिइन् । नेपालबाट यसअघि शनिबार दुई खेलाडीको चुनौती पहिलो चरणमा नै समाप्त भएको थियो । जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

प्रतिक्रिया