निक्षेपको व्याजदर पुनः घट्यो

काठमाडौं । कोरोना भाइरसको महामारी उत्कर्षणमा पुगेको बेला बैंक तथा वित्तीय संस्थाले पुनः निक्षेपमा दिने व्याजदर घटाएका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूले डेढ प्रतिशतसम्मले निक्षेपको व्याजदर घटाएका हुन् । निक्षेपबाट आउने व्याजले खर्च चलाइरहेका निक्षेपकर्तालाई बैंकको व्याज घटाउने रणनीतिले ठूलो असर पारेको छ । पछिल्लो आठ महिनाको अन्तरालमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदर डेढ प्रतिशतले घटाएका हुन् । गत फागुन–चैतसम्म ६ दशमलव ७७ प्रतिशत निक्षेपको व्याज दिइरहेकोमा केही महिनाअगाडि साधारण बचतमा ४ दशमलब ७८ प्रतिशत मात्रै दिन थालेका थिए । अहिले आएर ३ दशलमव ३२ प्रतिशतमा झरिसकेको छ ।

बैंकले साधारण वचतमा १ दशमलव ४६ प्रतिशतसम्म र मुद्दती वचतमा १ दशमलव २८ प्रतिशतसम्म व्याजदर घटाएका छन् । मुद्दती खातामा भने ९ दशमलव ७४ प्रतिशतसम्म प्रस्ताव गरिरहेकामा ८ दशमलव ४६ प्रतिशतसम्म दिन थालेका छन् । कात्तिकमा बैंकले मुद्दती निक्षेपमा औसत ८ दशमलव १५ प्रतिशत ब्याजदर प्रस्ताव गरेकामा मंसिरमा ८ दशमलव २४ सम्म गरेका हुन् । बैंकले कर्जाको व्याजदरसमेत यो अवधिमा करिब दुई प्रतिशतले घटाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण बैंकसँग ऋणको माग त्यति धेरै भएन । यसले गर्दा बैंकिङ क्षेत्रमा दुई सय अर्ब हाराहारी तरलता थुप्रिएको थियो । तरलता बढेपछि बैंकहरूको व्याज खर्च बढ्छ । त्यसैले पनि उनीहरूले निक्षेपकर्तालाई निरुत्साहित गरेको देखिन्छ । राष्ट्र बैंकले निक्षेपकर्ताले विगतमा धेरै नै मोलमोलाइ गरे भनेर कल डिपोजिटको व्याजदर नै तोकिदिएको छ । वचतको न्यूनतम सीमाको ५० प्रतिशत मात्र व्याज दिन पाइन्छ । वचतको न्यूनतम व्याज डेढ प्रतिशतमा आइसकेकाले कल डिपोजिटको ब्याज शून्य दशमलव ७५ प्रतिशत मात्र हुन्छ । मुद्दती निक्षेपमा बैंकले चासै देखाएका छैनन् ।

पछिल्लोसमय कस्ट अफ फन्ड घटेको र त्यसले गर्दा आधारदर घट्ने भएकोले सोही आधारमा व्याजदर पनि घटिरहेको बैंकर्सहरूले बताएका छन् । ‘अहिले निक्षेप मात्र होइन कर्जाको व्याज पनि घटिरहेको छ । मार्केटमा तरलता पनि बढी रहेको छ । लगानी गर्ने पनि ठाउँ अभावले निक्षेपको ब्याज घट्दै गएको र वातावरण सहज भए कर्जाको माग बढ्दै गएपछि व्याजदर बढ्ने भनाइ बैंकर्सहरूको छ । सो सम्बन्धमा नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंक बित्तीय संस्थाले वचत तथा संस्थागत निक्षेपमा व्याज घटाएको थाहा भए पनि त्यसो नगर्न निर्देशन दिन नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया