सुगम संगीतमा जम्दै विद्या

काठमाडौं । सुगम संगीतलाई आधुनिक गीत संगीतको रुपमा बुझने गर्दछौ । नेपाली गीत संगीतको प्रारम्भिक कालदेखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढाव आएको देखिन्छ । हुनत हामीकहाँ लोकगीत, शास्त्रीय संगीतदेखि लिएर विभिन्न क्षेत्रमा गाइने स्थानीय गीतको पनि त्यतिकै महत्व रहिरहेको छ । तथापि सुगम संगीतको आफ्नै प्रकारको महत्व र अस्तित्व रहिआएको छ ।

नेपाली आधुनिक गीत संगीतमा मित्रसेनदेखि रानु देवी, मेलवा देवी, हरिप्रसाद लगायतको नाम अगाडि आउँछ । प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक गायिकाले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली सुगम संगीत एउटै रफ्तारमा अगाडि बढेको भने छैन । आजभोलि राम्रा गीत संगीत नेपाली सांगीतिक क्षितिजमा आएका छन् भने अर्कोतर्फ सस्तो लोकप्रियताको होडबाजी पनि बजारमा निकै चलेको छ । शास्त्रीय संगीतलाई आधार मान्ने भन्दा पनि अन्य क्षेत्रलाई आधार मानेर धेरै गीत संगीतको रचना भइरहेको यस क्षेत्रमा सम्बन्ध रहेका नै स्वीकार्छन् । दुई–चार महिना चल्नुमात्र सुगम संगीतको अस्तित्व होइन भन्ने कुरालाई आजका रचनाकार, संगीतकारले भुलेको अथवा सस्तो लोकप्रियताको पछि लागेको पनि देखिन्छ । यसमा गायक–गायिकालाई मात्र दोष दिएर पन्छिन मिल्दैन । तथापि गायक–गायिकाले यसबारेमा मनन् गरेको भने पाइँदैन । नेपाली सांगीतिक आकाशमा सुगम संगीतको आफ्नो छुट्टै पहिचान र इतिहास रहेको छ । यो छविलाई कायम राख्ने वा भत्काउने जिम्मा वर्तमानका गायक–गायिका यसका गीतकार, संगीतकार तथा यस क्षेत्रमा लागेकाहरुको नै हो ।

यो क्षेत्रमा आफ्नो सांगीतिक क्षमतामार्फत स्रोता÷दर्शकको मन जित्न सफल गायिकाको रुपमा विद्या तिवारी चिनिन्छ । उनले नेपाली संगीतप्रेमीबाट भर्सटाइल गायिकाको रुपमा प्रशंसासमेत पाएकी छन् । विद्या पूर्वीय र पाश्चात्य दुवै गीत संगीतमा राम्रो दख्खल राख्छिन् । उनी खोजी प्रतिभा, नेपाली ताराजस्ता प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुँदै यो क्षेत्रमा होमिएकी हुन् । विद्याले प्लस टुको अध्ययनपछि काठमाडौं आएर गायनप्रतिको रहर पूरा गर्न शास्त्रीय संगीतका कक्षा लिएको सुनाइन् । उनी नेपाल आइडल, भ्वाइस अफ नेपालमार्फत स्रोता दर्शकको मन जित्न सफल भएकी थिइन् । ‘पहिलो हुनु नै जित होइन’ भन्ने विद्या स्रोता दर्शकको अपार माया र प्रतिस्पर्धाले संगीत क्षेत्रमा अघि बढ्ने बाटो देखाएको बताउँछिन् । उनका ‘हेल्लो हाई’, ‘तिनपाते’ ‘घाममा सुकाइदेऊ’, ‘झुम्का’, ‘भीडमा पनि’, ‘पिच रोड’ , ‘डलर’ लगायतका दर्जनौ गीत लोकप्रिय रहेका छन् ।

हेटौँडामा स्थायी घर भएकी विद्या त्यहाँ भएका सांगीतिक सबै प्रतियोगितामा भाग लिने गर्थिन र सबैको तारिफसँगै पुरस्कार जित्न सफल हुन्थिन । सानैदेखि गुनगुनाउने उनको घर परिवारमा नै गीत संगीतको माहोल थियो । भक्तराज आचार्य, नारायण गोपालका गीतहरू पहिलो पटक विद्याले आफ्नो बुवाकै मुखबाट सुनेकी थिइन् । त्यही प्रभावले पनि होला उनी यो क्षेत्रमा आइन् र यतिवेला आफ्ना प्रस्तुतिमार्फत वाही–वाही बटुल्न सफल भएकी छन् ।

विद्याले गीत चल्नुमात्र सफल नहुने बताउँदै भनिन्, ‘मलाई गीत चल्यो भन्दै आफू सफल भएजस्तो लाग्दैन । किनभने, मैले अझै धेरै मिहिनेत गर्न बाँकी छ । म कुनै चीज पाउँदैमा खुसी भइहाल्दिनँ । त्यो सफलतालाई कायम राख्न आगामी दिनमा अझै धेरै मिहिनेत गर्नुपर्नेछ ।’ विद्याका स्वरमा रहेका गीत प्रायः ट्रेन्डिङमा छन् । विद्या भन्छिन्, ‘आफूले गाएको गीत ट्रेन्डिङमा पर्दा, सबैको मुखमा झुण्डिँदा खुसी लाग्छ ।’

आफूलाई भर्सटाइल सिंगरको रुपमा चिनाउन चाहने विद्या कुनै एउटा दायराभित्र बाँधिन नचाहने बताउँछिन् । उनी पूर्वीय र पाश्चात्य दुवै शैलीका गीत गाउन सक्ने जिकिर गरिन् । नेपालका गायक–गायिकामा नारायण गोपाल, तारादेवी, अरुणा लामाको गीत अत्यधिक मनपर्ने बताउने विद्या सबैभन्दा मनपर्ने गीत नारायण गोपालले गाएको ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला’ र अरुणा लामाको ‘फूललाई सोधेँ’, त्यस्तै माइतीघर चलचित्रको ‘नमान लाज यसरी’ जस्ता रहेको जानकारी दिइन् ।

गीत संगीतमा जम्दै गएपछि विद्याले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएकी छन् । हालै राजधानीमा सम्पन्न भएको नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७७ मा पनि उनले अवार्ड चुम्न सफल भइन् । आफूले काम गर्दै जाँदा आफ्ना स्वरमा रहेका गीतले लोकप्रियता प्राप्त गर्दैगर्दा अवार्ड र पुरस्कार प्राप्त भएको उनले सुनाइन् । उनले भनिन्, ‘यो क्षेत्रमा मैले अझै धेरै गर्न बाँकी छ ।’

गायन क्षेत्रमा लोकप्रियता पाइरहेकी विद्या समाजसेवामा पनि त्यतिकै सक्रिय रुपमा लाग्ने गर्छिन । ‘समाज सेवा त हामी सबैको दायित्व हो’, भन्ने विद्या आहत मनमा सक्दो सहयोग पु¥याउनका लागि हरदम खटिने सुनाइन् । गीत संगीतको उचाई चुम्न सफलसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय विद्या आगामी दिनमा पनि नेपाली गीत संगीतका विविध आयाममा नै आफूलाई व्यस्त राख्ने बताइन् ।

नेपाली सांगीतिक आकाशमा सुगम संगीतको आफ्नो छुट्टै पहिचान र इतिहास रहेको बताउँदै विद्याले भनिन्, ‘यो छविलाई कायम राख्ने वा भत्काउने जिम्मा वर्तमानका गायक–गायिका यसका गीतकार, संगीतकार तथा यस क्षेत्रमा लागेका व्यक्तित्वहरुको नै हो ।’ उनले समयको माग साथसाथै यस क्षेत्रमा लागेका नयाँ पिँढीका स्रष्टाले यो जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गरिन् । उनले थपिन्, ‘अग्रजहरुको पाइला पच्छाउँदै आफ्नोपन सँगै काँधमा आएको जिम्मेवारी पूरा गर्नु यसै क्षेत्रमा संलग्नको कर्तव्य र समयको माग पनि हो ।’ उनले आफू पनि यही गोरेटोमा हिँडिरहेको र राम्रो सांगीतिक राजमार्ग निर्माण गर्ने अभियानमा लागेको बताइन् ।

प्रतिक्रिया