चार महिने बालकको पहिरोमा पुरिएर मृत्यु

डोटी । पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको मृत्यु भएको हो ।

गएरातिदेखिको लगातारको वर्षात्का कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परी भक्त घाइते भएको र उनको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण सडक पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेत, बारी सबै बगाएको छ ।

बाढीले गरेको क्षतिको विवरण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया