उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष महामहिम श्री लाङ फुकुआनबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा उद्योगमन्त्री भण्डारीले नेपाल र चीनको तिब्बत क्षेत्रबीचको सम्बन्ध हिमाल र नदिहरुबाट जोडिएको भन्दै दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवं सहकार्य रहँदै आएको धारणा राखे ।

त्यसका साथै उनले नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवम् विकासलाई प्रवर्द्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको बताए । भेटमा मन्त्री भण्डारीले नेपालले विआरआईमा सहकार्य गर्दै आएको भन्दै यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआवद्धताका विविध क्षेत्रमा लाभ लिन नेपाल प्रयासरत रहेको धारणा राखे ।

उनले नेपाली उत्पादनहरूको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक विन्दुलाई व्यवस्थित गर्ने,चीनको भन्सार र क्वारेण्टिन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्ताहरुलाई चीन सरकारबाट सहजीकरण गरिदिन समेत भेटमा आग्रह गरेका छन् ।

‘नेपालसँग सीमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार बिन्दुहरूमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरूको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु । ’ भेटमा मन्त्री भण्डारीले भने ।

भेटमा तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिँदै चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानीका इच्छुक रहेको धारणा राखे । उनले नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय द्धिपक्षिय भ्रमणहरू भएको भन्दै त्यसले दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने बताए ।

उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषयहरू समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे ।

प्रतिक्रिया