सर्लाहीमा थप १५ जनामा कोरोना पुष्टि

सर्लाही । बुधबार आएको पिसिआर रिपोर्ट अनुसार सर्लाहीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यसबारे सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

सर्लाहीको धनकौल गाउँपालिकामा १४ जना र ब्रह्मपुरी गाउपालिकामा १ जना गरी १५ जनामा कोरोना संक्रमण रहेको प्रजिअ जिसिले बताए ।
यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या १४६ जना पुगेको छ । यसअघि सर्लाहीमा १३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारतमा बस्दै आएको र केही दिन अगाडि भारतबाट नेपाल आएर आ–आफ्नो पालिकाको स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

१५ जना संक्रममितहरु मध्ये एक जना ११ वर्षीया बालिकासमेत संक्रमीत रहेकी छन् । उनी धनकौल गाउँपालिकाको धोबिनिया निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । संक्रमीतहरुको उमेर ११ वर्षदेखि ४० वर्षसम्म रहेको छ ।

प्रजिअ जिसिका अनुसार, उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र पालिकाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । र उनिहरु बस्दै आएको क्वारेन्टाइनलाई नै आइसोलेशन वार्डमा रुपान्तरण गरेर यथास्थानमा संक्रमितहरुलाई राख्ने तयारी भइरहेको छ ।

सदरमुकाम मलङ्ग्वा नगरपालिका– २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा बनाइएको ५० बेडको एक मात्र आइसोलेशन वार्ड भरिएको छ । सर्लाहीमा दिनानुदिन कोरोना संक्रमितहरु बढिरहेको अवस्था छ । नयाँ संक्रमितहरुलाई तत्काल व्यवस्थापन गर्नका लागि आ आफ्नो पालिकामा रहेको क्वारेन्टाइनलाई नै आइसोलेशन वार्डमा रुपान्तरण गर्दै जानुपर्ने हुन्छ । यसलाई सबै पालिकाले नितिको रुपमा लिनुपर्ने प्रजिअ जिसिले बताए ।

प्रतिक्रिया