लकडाउनले मेरो आहार लुटेको छ

कालिकोट । एक खुट्टामा प्वाल परेको चप्पल, अर्को हातमा गिट्टी कुट्ने हथौडा । गिट्टीको धुलोले शरिर र अनुहार भरि सेतै । लकडाउको बेला सदमुकाम मान्मस्थित कोटदरवार क्षेत्रको एकान्त भिरमाथिको सडक छेउमै गिट्टी कुटेर छाक टार्ने शर्मिला शाहीको बास्तविक कथा बेग्लै छ ।
खाँडाचक्र नगरपालिका– ११ कि शाहीका श्रीमानले ६ वर्ष पहिले दोस्रो विवाह गरे ।

दोस्रो विवाहपछि श्रीमानले नहेरेको उनको गुनासो छ । जिविकोपार्जन गर्न आर्थिक समस्याले बेलाबखत उनलाई झस्काइ रह्यो । न धेरै पढेलेखेकी, न श्रीमानको साथ उनले पाइन् । उनमा पेट कसरी पाल्ने भन्ने चिन्ता दिनप्रतिदिन बढ्दै गएको छ । सदमुकाम मान्ममा कोठा भाडा लिएर बसेकी शर्मिला गिट्टी कुट्नमै व्यस्त छन् । उनलाई लकडाउनको कुनै प्रवाह छैन् । स्थानिय तह तथा अन्य संघसंस्थाले राहत वितरण गरे पनि शर्मिलाले कहिल्यै राहत पाइनन् ।

उनले कुटेका गिट्टीहरु पनि लकडाउनले गर्दा कुनै ठाउँमा विक्री हुन नसक्दा शर्मिलाको मनमा धेरै पीडाको छ । आँखा भरी कचेरा, गिट्टी कुट्दा कुट्दै च्यातिएका कपडा, कपाल कोर्नसमेत नभ्याएकी शर्मिलाले भावुक हुँदै भनिन्, ‘लकडाउनले गर्दा मेरा गिट्टी विक्नै छोडे, तैपनी लकडाउन खुलेपछि सडक निर्माण होस् या अन्य गिट्टी प्रयोग हुने विकास निर्माणका काम सुरु भएपछि गिट्टी बेच्छु र कोठा भाडा तिर्छु ।’ शर्मिला बस्ने कोठाको भाडा मासिक एक हजार छ ।

उनले कोठाकको भाडासमेत तिर्न नसकेको ४ महिना भयो । ४० वर्षकी शर्मिलाले भनिन्, ‘श्रीमानको साथ नपाए पनि बच्न सक्छु, तर हरेक दिन मेरा पीडामा र सोच्दा सोच्दै वित्छन्, मलाई भविष्यको चिन्ता छ, पीडाले मलाई निदाउँनै दिँदैन, लकडाउनले मेरो खाने आहारा लुटेको छ, राहतको नाम त सुनेँ, तर पाइन ।’ लकडाउन पछि सबै गरिब घरपरिवारले राहत पाउने भनेपछि शर्मिलाको मनमा केही आशा पलाएको थियो । उनले आफ्ना समस्याबारे स्थानिय सरकारसँग गुनासो गरे पनि सुनुवाई नभएको बताइन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया