उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

बेनी । चौंथो संस्करणको दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

पर्वतको बेनीमा बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै एपीएफ र पुलिसले उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल शुक्रबार हुनेछ ।

पहिलो सेमिफाइनलमा एपीएफले न्यु डाइमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । एपीएफले मुख्य स्पाइकर प्रतिभा माली बिनाको न्यु डाईमन्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित गर्यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर रहेका छन् ।

यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्यो । पुलिसले आर्मीमाथि २५–१९, २५–२३ र २६–२४ को सेटमा जित निकाल्दै एपीएफसँग भेट पक्का गरेको हो । अब आर्मीले भने तेस्रो स्थानको लागि न्यु डाईमन्डसँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया