पुल्चोकको लज्जास्पद हार

काठमाडौं । पुल्चोक स्पोर्टस् क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ लिगमा पहिलो पराजय भोगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा सोमबार भएको दिनको दोस्रो खेलमा पुल्चोकले श्री भगवती क्लबलाई ६–० को नतिजा सुम्पिएको हो । भगवतीले पहिलो हाफमा तीन र दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकाल्न सफल भएको हो ।

भगवतीका लागि दर्शन गुरुङ एक्लैले चार गोल गरेका थिए भने कार्लोस बाखरिया र मोहनबहादुर थापा मगरेले समान १-१ गोल गरे । खेलको सुरुआतबाट नै दबाब दिँदै खेल पस्किएको भगवतीले २४औँ मिनेटमा दर्शन गुरुङको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि कार्लोसले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याए ।

पुल्चोकमाथि हाबी बनेको भगवतीका लागि दर्शनले व्यक्तिगत दोस्रो गरे । पहिलो हाफको बाँकी समयमा पुल्चोक खेलमा फर्किन प्रयास गरे पनि सफल भएन । पहिलो हाफमा लिएको ३–० को अग्रतापछि उच्च मनोबलमा रहेको भगवतीका लागि ६७औँ मिनेटमा दर्शनले गोल गर्दै ह्याट्रिक पूरा गरे । खेल सकिन ९ मिनेटमा मोहनले टोलीका लागि पाँचौ गोल गर्दा इन्जरी समयमा ह्याट्रिक पूरा गरेका दर्शनले व्यक्तिगत चौथो गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।

तीन खेलबाट दोस्रो जित निकालेको भगवती समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिँदा पुल्चोक भने समूह ‘बी’ को चौथो स्थानमा झरेको छ । समान ६ अंक भए पनि भगवती गोल अन्तरका आधारमा दोस्रो स्थानमा उक्लिएको भने पुल्चोक चौथो स्थानमा पुगेको हो ।

यस्तै, लिअन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा ब्वाइज युनियन र रानीपोखरी कर्नर टिम (आरसीटी) ले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको आरसिटीले ५१औँ मिनेटमा लिएको अग्रता अन्तिम चार मिनेट टिकाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । ५१औँ मिनेटमा आकाश राई गोल गर्दै अग्रता दिलाए पनि ८६औँ सिमनेटमा नवराज गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

लिगमा आरसिटीले तीन खेलबाट ४ अंक बटुल्दा ब्वाइज युनियनले २ अंक बनाएको छ । लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबको सामना गर्दा दोस्रो खेलमा श्री कुमारी क्लबले झम्सीखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया